म्युजिक भिडियोमा उदाउँदै अभिषेक

काठमाडौँ , १८ असोज । ‘मिष्टर ह्याण्ड्सम नेपाल २०१९’ बन्न सफल अभिषेक खड्का एकपछि अर्को म्युजिक भिडियोमा ब्यस्त बन्न थालेका छन् । ‘

मिष्टर ह्याण्ड्सम नेपाल २०१९’को ताज जितेपछि थुप्रै विज्ञापनहरुमा काम गरेका अभिषेकले सुरुवातमा टंक तिमिल्सिना र रेखा जोशीको स्वर रहेको ‘लैलै’ बोलको देउडा गीतमा सोनीका रोकायासँग मोडलिङ गरेका हुन् ।

‘त्यसपछि झण्डै डेढ दर्जनजति म्युजिक भिडियोमा अभिनय गरेँ’ अभिषेक भन्छन्, ‘मलाई विशेष गरी लोकदोहोरी गीतमा मोडलिङ गर्ने बच्चैदेखि रुचि थियो । अहिलेको तीजमा त्यो ईच्छा पूरा भयो ।’ गायक खुमन अधिकारीको ‘यत्तिकोले चल्छ’ र ‘कलकत्ते काइँयो’ले आफू अझ बढी दर्शकमाझ चिनिन सफल भएको उनी बताउँछन् ।

‘लै लै’ गीतबाट सुदूरपश्चिम बासीमाझ परिचित हुन सफल भएपनि लोकदोहोरी गीतका भिडियोमा काम गरेपछि आफ्नो परिचयको दायरा फराकिलो भएको उनले बताए ।

उनको अभिनयमा केही दिनअगाडि मात्रै ‘आउँदैछु गाउँतिर’बोलको दशैं तिहार गीत सार्वजनिक भएको छ । खुमन, सुनिता बुढा क्षेत्री, चिज गुरुङ र दिया नेपालको स्वर रहेको गीतमा अभिषेक र अञ्जली अधिकारीको अभिनय छ ।

‘यो गीतलाई पनि दर्शकहरुले एकदमै रुचाईदिनुभएको छ’ अभिषेक भन्छन् । उनलाई विभिन्न गीतबाट अभिनयको अफर आउँछ । तर, उनी छनोट गरेर मात्र अभिनय गरिरहेको बताउँछन् । एउटा तिहार गीत र एउटा सदावहार गीत चाँडै सार्वजनिक हुने तयारीमा रहेको उनले बताए ।

गायक खुमन अधिकारीबाट आफूले धेरै साथ पाएको अभिषेक बताउँछन् । उनकै सुझावमा आफूले नृत्य प्रशिक्षण लिएको समेत अभिषेकले बताए ।

अछामका अभिषेकले ईञ्जिनियरिङमा ब्याचलर पुरा गरेका छन् । आउँदा दिनमा मोडलिङमा आफूलाई ‘अपग्रेड’ गर्दै लैजाने, सँगै सरकारी जागिर खाने उनको सपना छ । अनुशासन, कामप्रतिको ईमान्दारितालाई आत्मसाथ गर्दै आफू अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्