फुमियो किशिदा भए जापानका प्रधानमन्त्री

काठमाडौँ , १८ असोज । फुमियो किशिदा जापानका प्रधानमन्त्री नियुक्त भएका छन्। सोमबार सदनमा बहुमत पाएपछि उनी जापानका १०० औं प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्री बनेसँगै उनले कार्यभार सम्हालेका छन्। योशिहिदे सुगाले एक वर्षको कार्यकालपछि राजीनामा दिएका छन्। ६४ वर्षीय किशिदाले जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)मा भएको चुनावमा जितेका थिए। गत बुधबार भएको पार्टीको चुनावमा किशिदाले २५७ मत पाएका थिए। उनले खोप मन्त्रीसमेत रहेका तारो कोनोलाई हराए। उनले जम्मा १७० मत मात्रै ल्याएका थिए।

जापानमा एलपिडीको नेतृत्वको चुनाव जित्ने नेता प्रधानमन्त्री बन्ने गरेका छन्, किनभने सदनमा पार्टीको बहुमत छ। अब किशिदाले कोरोना महामारीले अर्थतन्त्रमा पुर्‍याएको असर र उत्तर कोरियाको धम्की लगायतका कठिन मुद्दाहरू झेल्नुपर्ने जनाएका छन् ।

महामारीबीच भएको टोकियो ओलम्पिक्सपछि खस्किएको पार्टीको लोकप्रियता पनि उनले फर्काउने आश गरिएको छ।

अब नोभेम्बरमा हुने आमनिर्वाचनमा किशिदाले एलडिपीको नेतृत्व गर्नेछन्। अक्टोबर ३१ सम्ममा चुनावको घोषणा हुने बताइएको छ।

सोमबार नै किशिदाले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्नेछन्। उनी लामो समयदेखि प्रधानमन्त्री हुने दाउमा थिए। गत वर्ष पार्टीभित्र भएको चुनावमा पनि उनले भाग लिएका थिए। तर उनी सुगासँग पराजित भएका थिए।

किशिदा राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएका थिए। उनका बुवा र हजुरबुवा सांसद थिए। जापानमा धेरै समय विदेश मन्त्री हुने व्यक्ति पनि किशिदा नै हुन्। उनी सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री भएका थिए। उनी हिरोशिमाका बासिन्दा पनि हुन्।

किशिदाले नै सन् २०१६मा पूर्व–अमेरिकी राष्ट्रपति बाराक ओबामाको हिरोशिमा भ्रमण तय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्