काठमाडौंबाट २०७ जना पाकेटमार पक्राउ, ४६ जना जेल चलान

काठमाडौँ , १८ असोज । काठमाडौंमा सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले ठुलो संख्यामा ‘पाकेटमार’हरुलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार त्यस्तो गतिविधिमा संलग्न १ सय ६१ जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जाकारी दिए । पक्राउ गरिएका २०७ मध्ये १६१ जनालाई कारागारमा थुनामा पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको एसएसपी सिंहले जानकारी दिए ।

दशैं, तिहार र छठमा किनमेल गर्दा र यात्रा गर्दा धेरै पाकेटमारी हुने गरेको गुनासो आएपछि प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको थियो । सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

सार्वजनिक बसहरूमा दुई–दुई जनाको दरले ६ जनाको समूह बनाएर छिर्ने पाकेटमारहरुले यात्रुलाई ठेलेर घेराबन्दीमा पारेर गोजीबाट पैसा निकाल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पाकेटमारले सांकेतिक भाषाको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । यस्तो छ पाकेटमारले प्रयोग गर्ने भाषा
पैसा : द
मोवाइल : कान
पाकेटमारी सकेको मान्छे : रामे
पाकेटमारका मास्टर : काशी
पैसा धेरै छ : टानको द
पैसा थोरै छ : जुटको द
गाडी : काँचा
केटा : छापा
केटी : भद्री
पुलिस आयो : ठुल्दाई आयो
ड्राइभर: माम
खलासी : मले
गाडीबाट झरेर भाग : टप्की
गाडीभित्र अगाडि सर : अकल जा
गाडीभित्र पछाडि सर : चिछल जा ।

 

प्रतिक्रिया दिनुहोस्