पिकेबारे बार्सिलोनाको ड्रेसिङ रुम विभाजित

काठमाडौँ , २० असोज । जेरार्ड पिके बार्सिलोनाको प्रभावशाली खेलाडीहरु मध्ये हुन् । तर, पछिल्लो समय क्याम्प नाउमा उनी अप्ठ्यारो अवस्थामा परेका छन् । यो सिजन पिके बारम्बार हेड लाइनमा आइरहेका छन् ।

सबैभन्दा सुरुमा क्लबमा तलब घटाउन तयार हुनेदेखि बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेपछि ‘हामी जे छौँ, त्यहीँ हौँ’ भन्ने प्रतिक्रियाका कारण उनी मिडियामा छाइरहेका छन् । उनको तलब कम गर्ने निर्णयको अनुसरण अन्य क्लबका कप्तानहरूले पनि गरेका थिए ।

अहिले भने बार्सिलोनाको ड्रेसिङ रुमका सबैजना पिकेको व्यवहारसँग खुसी नरहेको खबर आएको छ । उनले क्लबको चाहनाभन्दा आफ्नो व्यावसायिक चासोलाई अघि बढाइरहेको आरोप छ । यसमध्येमा म्यानेजर रोनाल्ड कुमन पनि पिकेको व्यवहारबाट सन्तुष्ट छैनन् । अध्यक्ष जोआन लापोर्टासँग पिकेको नजिकको सम्बन्धका कारण पनि कुमन शंकालु छन् ।

पिके अहिले चर्चित स्पेनिस स्ट्रीमर इबाई लानोको पार्टनर बनेका छन् । उनको च्यानलमा पिके बारम्बार देखिरहन्छन् । दुवैले इस्पोर्टमा ला लिगा टोलीमा ३ लाख युरोको लगानीसमेत गरेका छन् । यसको साथै पिकेको कम्पनी कोसमोस होल्डिङले स्पेनमा लिग वानको अधिकार खरिद गरेको थियो ।

पीएसजीमा मेस्सीको डेब्यूलाई लानोसले आफ्नो ट्वीच च्यानलमा निःशुल्क स्ट्रम गरेका थिए । कोसमोसले सिरिए बी र कोपा अमेरिकाको अधिकारी पनि खरिद गरेको थियो । पिकेको कम्पनीले सन् २०१९ मा स्पेनिस फुटबलको तेस्रो डिभिजनमा रहेको एनडोरा एफसी पनि खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्