पोखरालाई हराउँदै चितवन ईपीएलको फाइनलमा प्रवेश

काठमाडौं । चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वालिफयरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवनले फाइनलमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनका लागि मोहमद साहजादले सर्वाधिक ४८ रनको योगदान गरे । हसिम अन्सारीले १४ रन बनाउँदा करिम जन्नतले ४ रन जोडे ।बलिङतर्फ पोखराका लागि नन्दन यादवले एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६६ रन बनाएको थियो । पोखराका लागि रिचर्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनील धमलाले १८ र सुशन भारीले १२ रन जोडे । त्यसबाहेकका ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङतर्फ चितवनका लागि सागर ढकाल र साहव आलमले समान चार/चार विकेट लिए । चार ओभर बलिङ गरेका सागरले १४ रन खर्चिए । साहवले चार ओभर बलिङ गरेर १० रन खर्चिए । चितवनका लागि कप्तान सोमपाल कामी र करिम जन्नतले समान एक/एक विकेट लिए ।

पराजित पोखराले इलिमिनेटरमा जित निकाल्ने टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्