चीन, क्यानडा र माल्दिभ्सले नेपाललाई १६ लाख डोज खोप सहयोग गर्ने

काठमाडौं , असोज २१ । कोरोना महामारीको अभियान अन्र्तगत खोप लगाउने कार्य यति बेला विश्वभर जारी रहेको छ । यता नेपालमा पनि यो अभियान जारी छ । नेपालमा अहिलेसम्म ६४ लाख नागरिकले पूर्ण खोप लगाएका छन् ।

नेपाललाई विभिन्न देशले सहयोग स्वरुप खोप अनुदानमा सहयोग गरेका हुन् । सहयोग गर्ने क्रमै चीन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको थप १० लाख डोज खोप सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा दिने भएको हो ।

बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच भएको छलफलमा सो सहमति भएको राज्यमन्त्री श्रेष्ठले ट्विटरमार्फत जानकारी दिएका छन् । त्यस्तै, नेपाललाई क्यानडा र माल्दिभ्सले ६ लाख डोज अस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने भएका छन् ।

क्यानडाले कोभ्याक्स सुविधामार्फत चार लाख डोज र माल्दिभ्सले दुई लाख तीस हजार डोज खोप अनुदानमा उपलब्ध गराउने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाले जनाएको छ । सो खोप चाँडै नेपाल आइपुग्ने शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्