ढुंगानालाई बखास्त गरेसँगै धितोपत्र बोर्डको अध्यक्ष बन्न दौडधुप

काठमाडौं, असोज २१ । सर्वोत्तम सिमेन्टको सेयर किनबेच प्रकरणमा सरकारले नेपाल धितोपत्र बोर्ड 9सेबोन)का अध्यक्ष भीष्मराज ढुंगानालाई बखास्त गरेसँगै सेबोनको नेतृत्वमा आउन दौडधुप सुरु भएको छ । सेबोनको अध्यक्ष बन्न त्यहीँ भित्रकै उच्च अधिकारी र बाहिरका व्यक्तिहरुले पनि लविङ सुरु गरेका छन् ।

सबोनको अध्यक्षमा नियुक्त हुनका लागि स्नाकोत्तरको उपाधि हासिल गरी कम्तीमा ७ वर्ष धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वाणिज्य, कानुनलगायत अन्य वित्तीय क्षेत्रमा काम गरेको योग्यता हुनुपर्ने कानुनी प्रावधान रहेको छ ।

सेबोनको धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ मा राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा बनेको समितिले सुरुमा ३ जना व्यक्तिको नाम सरकारलाई सिफारिस गर्छ । तीन जनामध्येबाट सरकारले एकजनालाई अध्यक्षमा नियुक्त गर्छ ।

गठबन्धन सरकार भएकाले नेपाली कांग्रेस र नेकपा माओवादी व्यक्ति लविङ सुरु गरेका छन् । अर्थमन्त्रालयको नेतृत्व माओवादी नेता जनार्दन शर्माले गरेकाले माओवादी निकटले अवसर पाउने सम्भावना छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप नगरेमा जनार्दन शर्माले इच्छाइएका व्यक्तिनै सेवोनको अध्यक्ष हुनेछन् ।

अध्यक्ष बन्नका लागि सेवोन भित्रका उच्च अधिकारी र बाहिरका व्यक्तिहरुले पनि उच्च राजनीतिक नेतृत्व समक्ष लविङ सुरु गरेका छन् । अध्यक्षको दौडमा बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, आईक्यानका पूर्वअध्यक्ष कृष्ण आचार्य, सेबोनकै कार्यकारी निर्देशक निरज गिरी, नायब कार्यकारी निर्देशक डा नवराज अधिकारी लगायतले दौडधुप सुरु गरेका छन् ।

चापागाई माओवादीका तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराको पालामा बीमा समितिको अध्यक्ष भएका थिए । बीमा समितिमा बस्दा बीमा लाइसेन्स वितरण गरेर उच्च राजनीतिक नेतृत्वलाई रिझाएकाले उनी प्रवल दाबेदार छन् । अन्य आकांक्षीहरुले पनि आफ्नो पक्षमा लविङ सुरु गरेका छन् । राजनीतिक नेतृत्वको इच्छामा भरपर्ने भएकाले अहिलेनै भन्न सकिने अवस्था छैन ।

नेप्सेका निवर्तमान सीईओ चन्द्रसिंह साउदले पनि इच्छा जाहेर गरेको भए पनि उनी सर्वोत्तम सिमेन्ट प्रकरणकै कारण नैतिकताका आधारमा राजिनामा दिएकाले सम्भावना कम छ ।साउदले पनि श्रीमतिको नाममा सर्वोत्तमको शेयर किनेका थिए । सर्वोत्तम शेयर खरिद विवादलाई लिएर बोर्डका सदस्य नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्