मुख्यमन्त्री शाक्यले २४ असोजमा विश्वासको मत लिने

काठमाडौं, असोज २२ ।  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २४ असोज आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने भएकी छन्।

एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले ३० दिनभित्र अर्थात् २४ असोजमा प्रदेश सभाबाट विश्वासको मत लिन आज शुक्रबार दिउँसो ३ बजे विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्ने सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएसँगै विश्वासको मत लिने निश्चत भएको हो।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्याललाई विश्वासको मत लिन प्रस्ताव पेश गर्ने सूचना बुझाएका थिए। मुख्यमन्त्री शाक्यले पेश गरेको पत्रमा दल विभाजन भएको परिप्रेक्षमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा बागमती प्रदेशसभा नियमावली २०७४ को नियम १४३ उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने सम्बन्धि प्रस्ताव पेश गर्न यो सूचना दिइएको उल्लेख छ।

मुख्यमन्त्री शाक्यको तर्फबाट अर्यालले बुझाएको पत्र शुक्रबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेर सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङलाई जानकारी गराइसकेको सचिवालयका प्रवक्ता बिनोद अमात्यले जानकारी दिए।

पत्र बुझ्दै सचिव खड्काले २४ असोज दिउँसो ११ बजे बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सूचनाको पत्र पेश गरिने र समितिको निर्णयानुसार प्रक्रिया अघि बढाइने बताए। शाक्यले विश्वासको मत लिने तयारीस्वरुप २० असोजमा २४ असोज दिउँसो ३ बजे प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्