प्रधानन्यायाधीशका जेठान हमाल कांग्रेसकै कोटाबाट मन्त्री भएका हुन्: प्रचण्ड

काठमाडौं, असोज २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन् । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै प्रचण्डले अनावश्यक हल्ला गर्नुमा केही तुक नभएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाल नियुक्त गरेका छन् । देउवाले कांग्रेस प्रजातान्त्रिक बनाउँदा हमाल नेपाली कांग्रेस बाँकेको सभापति थिए । त्यसपछि हमाल सक्रिय राजनीतिमा छैनन् ।

न्यायालयले भागबण्डा खोजेको हो रु भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँ कांग्रेसको पहिलाको अध्यक्ष नै हुनुहुन्थ्यो । नेपाली कांग्रेसकै कोटाबाट मन्त्री हुनुभाछ । होहल्ला गर्नु आवश्यक नै छैन । अनावश्यक हल्ला गर्नुमा केही तुक छैन ।’ सांसद बाहेकका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था संविधानमै भएको भन्दै उनले यसभन्दा अघिपनि धेरै पटक गैर सांसद मन्त्री बनेको बताए ।

पहिलो पटक संविधानसभा विघटन भएपछि हालको सत्तारुढ गठबन्धनले सेटिङको कुरा देशभर चलाएकाले त्यसैलाई कतिपयले भन्न मन लागेर भनेको तर मन्त्री नियुक्तिमा त्यस्तो सेटिङ नभएको उनले दाबी गरे । ‘त्यस्तो केही होइन । यहाँ केही सेटिङ छैन’, प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्