मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

काठमाडौँ , २४ असोज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज संसदबाट विश्वासको मत लिने भएकी छन् ।

गत भदौ २ गते मुख्यमन्त्री नियुक्त शाक्यले नेकपा एमाले विभाजनका कारण अल्पमतमा परेपछि विश्वासको मत लिने भएकी हुन् । मुख्यमन्त्री शाक्यका तर्फबाट विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको छ ।

गत शुक्रबार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले विश्वास मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयका सचिव कृष्णहरि खड्का मार्फत दर्ता गराएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्तावको प्रक्रिया अगाडि बनाउनेबारेमा कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्ने सचिव खड्काले बताए । उनका अनुसार आइतबार ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया टुङ्ग्याउने छ ।

कार्य व्यवस्थाको निर्णय अनुसार मुख्यमन्त्री आजै ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव अघि बढाउने उनले बताए । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गत भदौ २७ गते नेकपा एमाले विभाजन तथा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको विवरण सहितको पत्र संसद् सचिवालयमा दर्ता भएपछि मुख्यमन्त्री शाक्य आधिकारिक रुपमा अल्पमतमा परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्