थुनुवाको मृत्युपछि सुनसरी तनावग्रस्त : झडपमा प्रहरीसहित दर्जन बढी घाइते

काठमाडौं, असोज २४ । प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ ।

आज  मृत्तकका आफन्तसहित ठूलो संख्याको भिडले प्रहरीमाथि आक्रमण थालेपछि झडप भएको हो । ढुङ्गगामुढापश्चात् प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्याँस समेत प्रहार गरेको छ ।

झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरूले प्रहरीले सुनियोजित रूपले थुनामा रहेका व्यक्तिको ‘हत्या गरेको’ भन्दै लाश नबुझ्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भने सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने जानकारी दिए ।

झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा गाउँपालिका–५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए ।

पीडित पक्षले भने ‘केटाकेटी राजीले भागेको विषयमा राजनीति गरिएको’ बताएका छन् । उनीहरूले युवतीलाई परिवार पक्षले छुटाएर लगेको र युवकलाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्