२७ मध्ये ८ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ?

काठमाडौं, असोज २४ ।  आठवटा वाणिज्य बैंकहरूले दसैँअघि नै लाभांश घोषणा गरेका छन् । नेपालका २७ मध्ये हालसम्म आठवटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकहरूले आफ्ना सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका हुन् । अहिले लाभांश घोषणाको सिजन हो ।

बाँकी १९ वटा बैंकहरूले पनि क्रमशः लाभांश घोषणा गर्नेछन् । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित भएपछि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइन्छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि सेयरधनीको खातामा लाभांश जम्मा हुनेछ ।

हालसम्म घोषितमध्ये हिमालयन बैंकले सबैभन्दा बढी २६ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ । गत बुधबार बसेको हिमालयन बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको घनिभूत तयारी र चर्चा चलिरहेकै बेला बैंकले हालसम्मकै सबैभन्दा बढी (मर्जर पार्टनर बैंकलाई समेत पछि पार्दै) २६ प्रतिशत लाभांश वितरण घोषणा गरेको हो । गत आर्थिक वर्षमा बैंकले कुल २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी हाल १० अर्ब ६८ करोड रूपैँया पुगेको छ ।

यता मर्जर पार्टनर इन्भेष्टमेन्ट बैंकले भने गत आर्थिक २०७७/७८ मा कुल तीन अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा नाफाबाट १६ प्रतिशत मात्र लाभांश वितरण गर्ने जनाएको छ । बैंकले गत वर्षको मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको होे ।

सो बापत बैंकले यसपटक १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आठवटा बैंकले घोषणा गरेको लाभांश :

सानिमा बैंक
सानिमा बैङ्कले अधिकतम १७.८९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । हालै बसेको बैङ्कको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो । गत असार मसान्तसम्म बैङ्कले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । हाल बैङ्कको चुक्तापुँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई अधिकतम १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । गत शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट ३.०८७ नगद र १२.९१३ बोनस सेयर गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष बैंकले कुल एक अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई अधिकतम १५.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले गत वर्षको नाफाबाट आर्जित चुक्ता पूँजीको अधिकतम १२ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आव २०७६/७७ बाट बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकले गत आर्थिक वर्ष ७.०८ प्रतिशतले बढी लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षमा कुल दुई अर्ब २९ करोड २५ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ लाख २११ रुपैयाँ रहेको छ । १ अर्ब ८ करोड ५ लाख ७८ हजार ५३२ रुपैयाँ बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १० अर्ब ८ करोड ५३ लाख ९९६ रुपैयाँ पुग्नेछ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर लाभांश दिने निर्णय गरेको छ ।
बैंकले कुल १४ प्रतिशत मध्ये १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैया तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित रहेको छ ।

कुमारी बैंकको सबैभन्दा कम
हालसम्म लाभांश वितरण घोषणा गरिसकेका ८ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम लाभांश कुमारी बैंकले प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई अधिकतम ११.३५ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ ।

बैंकले नाफाबाट आर्जित चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) ८.६७ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको हो । बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
अन्य १९ वाणिज्य बैंकहरूले पनि क्रमशः लाभांश वितरणको घोषणा गर्दै छन् । यद्यपि, केहीँ बैंकले दसैँअघि नै लाभांश वितरणको घोषणा गर्दैछन् भने केहीले दसैँपछि मात्र वितरण गर्ने तयारी गरेका छन् ।

लाभांश वितरण गर्न बाँकी १९ वाणिज्य बैंकहरू …

प्रतिक्रिया दिनुहोस्