सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दावी

काठमाडौं, असोज २४ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ । सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद भरतकुमार शाह छन् ।

आइतबार सार्वजनिक लेखा समितिको बैठकको शुरुमै बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन् ।

बाँस्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्दै समितिका सभापति भरत शाहको राजीनामा समेत माग गरे । उनले भने, ‘हामी लोकतान्त्रिक अभ्यासमा छौं । यो हाम्रो प्रणाली मात्रै होइन जीवन पद्धति पनि हो । हाम्रा परम्पराहरु, व्यवस्थाहरुको कारणले गर्दा पनि अरुलाई हाम्रा अभ्यासहरूको कारणले पनि अपवादबाहेक लेखा समितिको नेतृत्व सामान्यतयाः संसारभरीनै प्रतिपक्ष दलले गर्ने व्यवस्था छ । यस सम्बन्धमा म ध्यानाकर्षण मात्रै गराउन सक्छु सभापतिज्यूसँग व्यक्तिगत भन्दा पनि आफूले प्रणालीको कुरा उठाउन चाहे । म अनुरोध गर्न चाहन्छु, सन्देश दिन चाहन्छु–अहिलेको सत्ता पक्षलाई लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्ने कुरा । त्यसको अर्थ हाम्रो परम्परागत प्रणाली र मर्यादालाई नभत्काइयोस् भन्ने कुरा चाहन्छु ।’

एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाइप्रति ऐक्यबद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गरे ।

उनले प्रमुख प्रतिपक्ष दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्तापक्षले सार्वजनिक लेखा समितिको सभापति लिई राख्न नपाउने बताए । यता, सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिए । उनले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफ दिए ।

सभापति शाहले आफू २०५६ सालदेखि संसदमा रहेको तर समितिका विगतका सभापतिहरूले राजीनामा नदिएको प्रसंग उल्लेख त्यसै गरेर अघि बढने धारणा समेत राखे । सभापति शाहले विपक्षले सो कुरा उठाउनु धर्म भएको भन्दै त्यसले प्रजातन्त्र सुदृढ भएर जाने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्