माधव नेपालले नवनियुक्त मन्त्रीहरूलाई भने – ‘बदनामी कमाउने र विवादमा पर्ने काम नहोस्’

काठमाडौं, असोज २४ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र कर्तव्यनिष्ठाका साथ देश र नागरिकको हितमा काम गर्न निर्देशन दिएका छन् ।

पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आज आइतवार पार्टी केन्द्रीय कार्यालयमा बोलाएर नेता नेपालले इमानदारिता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताए । उनले देश र नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिए ।

अध्यक्ष नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराए । कुनै पनि संस्थामा व्यक्तिको छनोट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए ।

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुन नहुनेमा जोड दिए । पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न उनले निर्देशन दिए । कुनै पनि प्रकारका दुर्व्यसन र आचरणसँग जोडिने काम नगर्न अध्यक्ष नेपालले निर्देशन दिए । उनले गठबन्धनको भावनाअनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गरे । मन्त्रीहरूको सल्लाहकार, पिए लगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरूमाथि अगाडि नै सामूहिक रूपमा बसेर, छलफल गरेर, साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताए । सिङ्गो मन्त्रीपरिषद्ले गर्ने निर्णयको जसरअपजसको भागीदार सबै मन्त्री हुने उल्लेख गर्दै उनलले मन्त्रिपरिषद्का विषयवस्तुहरू पार्टीलाई समेत जानकारी गराइ, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने औंल्याए ।

प्रतिक्रिया दिनुहोस्