महाधिवेशनको रोकिएको प्रक्रिया तिहारलगत्तै सुरु हुन्छ : महामन्त्री कोइराला

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहारलगत्तै सुरु हुने बताएका छन्।

मंगलबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा कोइरालाले विवाद रहेका १३ जिल्लासहित अन्य रोकिएका जिल्लाकोसमेत तिहारलगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताएका हुन्।

उनले भने, “तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ। अब सार्ने अवस्था छैन। महाधिवेशन समायमा नै गर्नुपर्छ।” १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उनले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए।

महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उनले जानकारी दिए। “छलफल भइरहेको छ। संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौं,”उनले भने। आफू, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा। शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उहाँले आफू बलियो उम्मेदवार रहेको बताए।

फरक प्रसङ्गमा सरकारले पूर्णता पाएसँगै अब विकास निर्माणका कामहरुलाई तिव्रता दिइने उनको भनाई थियो। उनले भने, “अहिलेको सरकार गठबन्धनको सरकार हो। यसले पूर्णता पाएको छ। अब राम्रो काम गर्छ।” रासस

प्रतिक्रिया दिनुहोस्