लामो यात्रामा गर्दा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह, यस्ता छन् मापदण्ड

काठमाडौं, २६ असोज । चाडबाडको समयमा लामो दुरीको यात्रा गर्दा थप सजकता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

सार्वजनिक यातायातबाट लामो दुरीको यात्रा गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनामा हेलचेक्रयाइँ नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।

यस्ता छन् स्वास्थ्य मापदण्ड

सही तरिकाले मास्क प्रयोग गर्ने ।
गाडी चढेपछि र ओर्लिएपछि साबुन पानी वा स्यानिटाइजरले हात सफा गर्ने ।
यात्राका बेला सम्भव भएसम्म उपयुक्त भौतिक दुरी कायम गर्ने ।
सकेसम्म खुद्रा पैसा वा अनलाइन भुक्तानीको व्यवस्था गर्ने ।
आवश्यक खानेकुरा आफैं बोक्ने ।
होटलमा खाना खान परे जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर खाने ।
अनावश्यक रुपमा सवारी साधनका झ्याल, ढोका, डण्डी तथा सिट नछुने ।

प्रतिक्रिया दिनुहोस्