रोल्पामा कांग्रेस कार्यकर्ताको आफ्नै घरमा घाँटी रेटेर हत्या, आशंकामा भाइ पक्राउ

काठमाडौं, , २६ असोज । रोल्पामा नेपाली कांग्रेसका कार्यकर्ताको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बोटका ५२ वर्षीय पूर्णबहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो ।

बुढाको आफ्नै घरमा घाँटी काटेको अवस्थामा शव फेला परेको रोल्पा प्रहरीले जानकारी दिएको छ । उनी गत साउन २३ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले क्षेत्रीय प्रतिनिधि बुढाको आइतबार राति हत्या भएको जानकारी दिए ।

‘हिजो ९बिहान ११ बजे घटना थाहा भयो । अघिल्लो राति हत्या भएको हुन सक्छ,’ उनले भने । सभापति पुनका अनुसार बुढा घरमा एक्लै बस्दै आएका थिए । श्रीमतीको निधन भइसकेको, छोराहरु वैदेशिक रोजगारीमा रहेका र छोरीको बिबाह भइसकेकाले बूढा एक्लै बस्दै आएका उनले बताए ।

प्रहरीले हत्या गरेको आशंकामा मृतकका भाइ अमराज बुढालाई पक्राउ गरेको छ । कुकुरले गरेको पहिचान गरेका आधारमा प्रहरीले भाइलाई पक्राउ गरेको हो । रोल्पा प्रहरीले बाँकेको नेपालगञ्जबाट कुकुरसहितको टोली घटनास्थल बोलाएको थियो ।

‘ हत्या आरोपमा प्रहरीले मृतकका भाइ पक्राउ गरेको छ,’ जिल्ला सभापति पुनले भने । घरमा एक्लै रहेका बुढाको सोमवार विहान ११ बजेसम्म ढोका नखुलेपछि प्रहरीको सहयोगमा ढोका फोडेर हेर्दा हत्या भएको अवस्थामा पाइएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।अहिलेसम्म घटना कसले गराएको हो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्