एमालेसँग छलफलका लागि तयार छु: सभामुख सापकोटा

काठमाडौं, असोज २७ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए ।

बुधवार उनले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए ।

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताए । उनले संसद् सुचारु रूपमा चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफू सकेसम्म पहल गर्ने बताउँदै संसद् पुनर्स्थापना गर्न लागि परे जस्तै संसद् सुचारु रूपमा चलाउन संसदहरुले पहल गर्नुपर्ने बताए । उनले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागि पर्ने बताए ।

सभामुख सापकोटाले संसद्मा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै सञ्चारमाध्यमहरूमा आएको कुरा सही नभएको बताए । उनले एक किसिमले राष्ट्रका संवेदनशील विषयहरू अगाडि बढ्न आफूले नरोकेको सहजीकरण नै गरेको बताए ।

उनले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरू उदासीन नभएको बताउँदै संसद् सुचारु गर्नका लागि शान्तिपूर्वक लागिपर्ने प्रतिबद्धता जनाए । उनले यसका लागि सरकार, गठबन्धन दल र सबै सांसदहरूले समीक्षा गर्नुपर्ने बताए । उनले लोकतन्त्र संघीय संसद्मा कमै मात्र प्रयोग भएको बताए । आगामी कार्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा संसद् सुचारु रूपले चल्नेमा आफू आशावादी रहेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्