दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति दिन प्रचण्डको सरकारलाई आग्रह

काठमाडौं, असोज २७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको उनले उल्लेख गर्दै कास्की, अछामलगायत देशका विभिन्न भागहरूमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको उनले बताएका छन् ।

दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

यता बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्