साफ च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र भारत भिड्दै

काठमाडौं, असोज ३० । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज ९शनिबार० भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा हुनेछ ।

आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

२८ वर्षे साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । आजको फाइनल खेल जिते नेपालले इतिहास रच्ने छ । तर, आजको खेल जित्न भने कठिन छ । नेपालले आज भारतसँग यस अघिको खेलमा गरेको गल्ती सुधार्नु पर्ने हुन्छ । आजको खेल नेपाललाई भारतसँग बदला लिने अवसर समेत हुनेछ ।

यसअघि समूह चरणको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल जितेर इतिहास रच्ने सुनौलो अवसर खेर जान नदिने बताएका छन् ।

उनले आजको खेल आफूहरुका लागि ठूलो खेल भएको भन्दै ऐतिहासिक लक्ष्य प्राप्तिमा मात्र एक जित टाढा रहेको बताएका छन् । उनले आजको खेलमा समूह चरणमा भारतसँगको खेलमा गरेको गल्ती पनि सुधार्ने बताएका छन् ।
अञ्जन विष्ट मैदान बाहिर
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले आजको फाइनल खेल गुमाएका छन् । उनी गएको बुधवार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पु¥याउन नायक बनेका थिए ।

खेलको ८६ औं मिनेटमा अञ्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसै पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए । तर, खेलका क्रममा क्रसमा आएको बललाई हातले हान्न खोजेपछि उनले पहेँलो कार्ड पाएका थिए ।

यसअघि अञ्जनले भारतसँगको खेलको अन्तिम समयमा पनि पहेँलो कार्ड पाएका थिए । जारी प्रतियोगितामा दुई पटक पहेंलो कार्ड पाएकाले उनले फाइनल खेल गुमाएका हुन् । अञ्जनको अनुपस्थितिले फाइनलमा नेपाललाई पक्कै घाटा पुग्नेछ ।

जारी प्रतियोगितामा अञ्जनले नेपालका लागि दुई गोल गरेका छन् । उनले फाइनल खेल आफूले खेल्न नपाए पनि आफ्ना सहकर्मीले मेहनत गरेर नेपाललाई जिताउने विश्वास व्यक्त गरेका छन् ।

अञ्जनले हिजो सामाजिक सञ्जालमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेको दिनदेखि नै आफ्नो देशको लागि सबथोक दिँदै शतप्रतिशत प्रतिबद्ध भएर लागेको बताएका छन् । उनले भारतसँगको खेलपछि आफूले धेरै गाली पाएको भन्दै कुनै पनि खेलाडीले देशलाई हराउन नखोज्ने पनि स्पष्ट पारेका छन् ।

कप्तान किरणको साफ उपाधि दिलाउने सपना
साफ च्याम्पियनसिप तयारी गर्ने बेला कप्तान किरण चेम्जोङले आफ्नो ‘कार्यकाल’ मा साफ च्याम्पियन जिताउने सपना रहेको बताएका थिए । उनी त्यो सपना साकार गर्ने विन्दु नजिक छन् । यो सपना उनको मात्र नभएर सम्पूर्ण खेलाडी र खेलप्रेमी सबैले देखेका छन् । खेल हो, एक जनाले मात्र राम्रो खेलेर हुँदैन, त्यसैले सबै खेलाडीले सपना साकार पार्न उत्कृष्ट प्रदर्शन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्