धान थन्क्याउने बेलामा बेमौसमी वर्षा, किसान चिन्तित

काठमाडौं, कात्तिक १ । आइतबार राति देखिको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ।मनसुन बाहिरिँदै गर्दा बंगालको खाडीमा उत्पन्न भएको न्युन चापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा बढी परेको हो।

नेपालको पश्चिम क्षेत्रमा यस वर्षको वर्षायाममा भन्दा बढी वर्षा हुनुको साथै हावाहुरी पनि आएको छ। वर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ। एकदुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन्।

उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सुदूरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा आइतवार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ।

यो क्रम मंगलवारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ। मनसुन सकिने बेला बाढी पहिरो आउने गरि वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको असर भनेका छन्। मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरुले बताएका छन्।जलवायु विज्ञ डा। धर्मराज उप्रेतीले मनसुन पछि हुने वर्षाले धेरै क्षती गर्ने बताए।

उनले भने, ‘यो खतरनाक किन हुन्छ भने मान्छेले मनसुन गइसक्यो भनेर बुझ्छ। अनि मुभमेण्ट बढाउँछ। त्यो मुभमेण्ट बढ्दा यस्तो नयाँ सिस्टम विकसित हुन्छ। त्यो नयाँ सिस्टमको प्रभाव मान्छेको आकलन भन्दा बाहिर गएर आउने भएकाले हानी नोक्सानी बढी गर्ने र बढी गरिरहेको अवस्था पनि छ।’

यस वर्षको मनसुन जुन ११ मा सुरु भएर अक्टोबर ११ मा बाहिरिएको थियो। सेप्टेम्बर २३ मा मन सुन बाहिरिनुपर्ने भएपनि केही वर्षदेखि सिप्ट भइरहेकाले नेपालले अक्टोबर २ लाई मनसुन बाहिरिने मिति तोकेको छ। तर एक साता बढी ढिला गरि नेपालबाट मनसुन बाहिरिएको थियो। मनसुन बाहिरिने प्रक्रियासँगै बंगालको खाडीमा न्युन चापीय अवस्था सिर्जना हुनु र अफगानिस्तानमा विकसित पश्चिमी वायुको प्रभावका कारण मनसुन सकिएपछि पनि वर्षा भएको विज्ञ उप्रेतीले बताए। मनसुन सकिएपछिको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बाढी र पहिरोको घटनाको समाचार आउन थालेको छ।

उनले भने, ‘नेपालमा मनसुन जुनमा भित्रिने र अक्टुबरमा बाहिरिने गरेकोअवस्था देखिएको छ। यस वर्ष ८ दिन ढिला गरी मनसुन बाहिरियो। मनसुन बाहिरिने प्रक्रिया नेपाल भारत हुँदै भारतको साउथमा गएर टुंगिएर समुन्द्रमा जान्छ। तर मनसुन बाहिरिँदै गर्दा बंगालको खाडीमा एक खालको न्युन चापीय अवस्था उत्पन्न भयो र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भयो र दुवै वायु एकआपसमा ठोक्कियो र त्यसबाट नेपालको पश्चिमि क्षेत्र बढी प्रभावित भयो। अहिले पूर्वदेखि पश्चिम सम्म नै यो वायुले निम्त्याएको प्रभाव देखिएको छ। मेलम्चीमा पनि फेरि बाढी आएर अस्थायी पुलहरु बगाएको छ।’

छिमेकी राष्ट्र भारतले उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा रेड अर्लट जारी गरिसकेको छ। त्यहाँ २ सय मिलिमिटर भन्दा बढी वर्षा हुने आकलन गरिएको छ। यस्तै, नेपालको पश्चिम क्षेत्र डडेलधुरामा गत २४ घण्टामा १ सय ७९ लिटर मिलिमिटर वर्षा भईसकेको छ। यो भारतको आँकडासँग मिल्दोजुल्दो छ। यो अवस्था जलवायु परिवर्तनको असरसँग जोडिने विज्ञ उप्रेतीले बताए।

नेपाल सरकारसँग मौसमजन्य विपद्को पूर्वसूचना चुस्त दुरुस्त नभएका कारण यस्ता बेमौसमी वर्षा लगायतका विपद्को क्षति न्युनीकरण गर्न नसकिएको उनले बताए। उनले सूचना प्रणालीलाई सरकारले नै उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

उनले भने, ‘मौसमजन्य विपद्को पूर्व सूचना प्रणालीलाई देशले नै कति महत्व दियो र योजनामा राख्दा कति बजेट छुट्यायो राष्ट्रले भन्ने कुरा जहिले पनि बहस र गुनासोकै विषय बनेको छ। जल तथा मौसम विज्ञान विभागको संरचनागत अवस्था पनि सबै प्रदेशमा पुगेको अवस्था छैन। साथै विभागले अहिले तापक्रम र पानीको ३ दिन पूर्वको सूचना दिने गरेको छ। त्यो सूचना पनि समुदायसम्म पुराउने पद्धतिलाई विस्तार गर्न सकिएको छैन। त्यसैले यो सूचनालाई समुदायसम्म लैजाने व्यवस्था गरिनुपर्छ जुन अहिले भएको छैन। हिमाली क्षेत्रमा कति हिउँ पर्दैछ भन्ने हामी भन्न सक्तैनौ।

कहाँ कति पर्यो भन्ने पनि हामीसँग रेकर्ड छैन। कुन ठाउँमा कति हिउँ पग्लियो भन्ने पनि हामी भन्न सक्तैनौ। सबै नदी प्रणालीको पानीको वहाव नाप्ने संयन्त्रको विकास र विस्तार हुन सकेको छैन। केही नदी प्रणालीमा त पानीको तह नाप्ने स्टेशनहरु छन् तर कतिपय ठाउँमा खहरे खोलाहरु छन्। खहरे खोलाहरुमा आकस्मिक बाढी आउँछ। आकस्मिक बाढीको पूर्वसूचना त हामीसँग छँदै छैन। त्यसको विस्तार र हिमाली नदी प्रणालीको पानीको वहाव नाप्ने संयन्त्रको विकास र विस्तार तथा त्यसको सूचना प्रणालीको विस्तार सबै क्षेत्रमा गर्नुपर्ने देखिन्छ।’

जलवायु जन्य विपद्का घटना र पूर्वतयारी तथा क्षति न्युनीकरणका लागि अपनाउनुपर्ने सर्तकता लगायत विषयमा अन्तरदेशीय सूचना सञ्चार बढी प्रभावकारी हुने गरेको उनले उल्लेख गरे। तर अन्तरदेशीय सूचना सञ्चार प्रभावकारी हुन नसक्दा पनि विपद् पूर्वको सूचना प्राप्ती चुनौतिपूर्ण बनेको उनले बताए। डा। उप्रेति अन्तरदेशीय सूचना सञ्चारमाथिको पहुँच विस्तारमा राजनीतिक तहमा नै प्रयास गरिनुपर्ने तर्क गर्छन्।

उनले भने, ‘भोटेकोशीको माथि जलाधार क्षेत्रमा बाढी आयो भने चाईनाले एउटा चिठी दिन्छ। यहाँ धेरै पानी परेको छ। तपाईहरु सर्तक रहनुहोस्। भारतमा एकदमै कम्प्रिहेन्सीप सिस्टम छ। अहिलेको वर्षाबारे भारतले विभिन्न क्षेत्रमा रेड अलर्ट नै जारी गर्यो। तर त्यो सूचना नेपालले पाएको अवस्था छैन। त्यो सूचना नेपालले पनि पाएको भए नेपालले आफ्नो समुदायमा सञ्चार तथा परिचालन गर्न सक्थ्यो। त्यो चुनौति हामीकहाँ छ। त्यसैले नेपालले भारत र चीनसँग अहिले राख्नुपर्ने विषय भनेको नै अन्तरदेशीय सूचना कसरी पाउने भन्ने नै हो। यो राजनीतिक तहबाटै गरिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्