बाढी-पहिरोबाट सुदूरपश्चिममा तीनको मृत्यु, एक बेपत्ता

काठमाडौं, कातिक २ । लगातारको वर्षासँगै आएको बाढी पहिरोका कारण सुदुरपश्चिममा तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा डोटीका दुई जना र डडेल्धुराका एक जना छन् । यस्तै डडेल्धुरामा दुई जना घाइते भएका छन् । कैलालीमा एक जना बेपत्ता भएका छन् ।

पहिरोका कारण बझाङमा तीन, डोटीमा एक र डडेलधुरामा दुई वटा घर भत्किएको सुदुरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ । बझाङको बागथला प्रहरी चौकी डुबानमा परेको छ । कैलाली, डोटी, डडेल्धुरा, बझाङ र अछाममा सडक समेत अवरोद्ध भएका छन् ।
यस्तो छ क्षति
कैलालीमा सोमबार राति गएको पहिरोका कारण अवरोद्ध भिमदत्त राजमार्ग एकतर्फी शुरु भएको छ । सडक माथिबाट पहिरो खस्दा पूर्णरुपमा अबरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय र स्थानीय प्रहरीको सक्रीयतामा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

प्रहरी बिट स्याउलेका अनुसार गोदावारी नगरपालिका–८ स्याउलेको खुटिया खोलाले स्थानीय ३० वर्षीय गणेश आउजीलाई खोलाले बगाएको छ । खुटिया पूल देखि १ किलोमिटर उत्तर तर्फ खोलाबाट ढुङ्गा निकाल्ने क्रममा खोलाले बगाएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजिगरिरहेको छ ।

सोमबार दिउँसोबाट गोदावरी नगरपालिका–८ स्याउले स्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न भनि गएका दुई जनाको उद्धार भएको छ । नदीको बीच टापुमा फसेका गोदावरी नगरपालिका–९ बल्मीका ४० वर्षीय मानबहादुर थापा र उनकी श्रीमती ३६ वर्षीया रेबु थापाको प्रहरीले सकुशल उद्धार गरेको हो ।

इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीका अनुसार चुरे गागरपालिका–३ सल्लाघारी स्थित भिमदत्त राजमार्ग अवरोद्ध भएको छ । सडक डिभिजनसँग सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

मोहन्याल गाउँपालिका–४ ठूलीगाडको बीच दोभानमा दुई जना फसेका छन् । ५० वर्षीय लोकबहादर बुढा मगर र उनकी श्रीमती ठुली गाडको बिच दोभानमा फसेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको उद्धारका लागि प्रहरी खटिएको छ । कञ्चनपुरमा महाकाली नदीको वहाव उच्च भएपछि आवतजावत नै बन्द गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी चौकी गड्डाचौकी कञ्चनपुरका अनुसार भिमदत्त नगरपालिका १२ ओदाली र ऐरी घाटमा करिव डेढसय घर परिवार डुवानमा परेका छन् । दोधारा चादनी नगरपालिका १० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा माहाकाली नदीको बाढीका कारण करिव ७० घर डुवानमा परेको इलाका प्रहरी कार्यालय दोधाराले जानकारी दिएको छ ।

डुवानमा रहेका ४० परिवारलाई ओमकार आधारभुत बिद्यालयमा र २० घर परिवारलाई आफन्तको घरमा सारिएको छ । बझाङमा केदारस्यु गाउँपालिका १ नारीगौडाखोलाले जयपृथ्वि राजमार्गमा क्षति पुर्‍याएको छ । प्रहरी बेस देउलेखका अनुसार बित्थडचिर गाउँपालिका ५ बोहराटोलमा पहिरोका कारण तीनवटा घरमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्