प्रधानमन्त्रीको निर्देशन- तत्काल राहत र पुनर्स्थापनामा लाग्‍नूस्, बजेट अभाव हुँदैन

काठमाडौँ , कार्तिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि परिचालित हुन विपद् व्यवस्थापन परिषद्‍लाई निर्देशन दिएका छन् ।

बुधबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । साथै राहत र पुनर्स्थापनाका लागि बजेटको अभाव नहुने गरी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई समेत उनले निर्देशन दिएका छन् ।

पछिल्लो ३ दिनमा जुन अकल्पनीय क्षति हामीले बेहोर्‍यौँ, त्यसमा तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि अझै द्रूत गतिमा सबैजना परिचालित हुन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ, उहाँ आफैँ पनि फिल्डमा निस्किने भन्नुभएको छ,’ बैठकपछि गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘त्यही अनुसार सबैजना आवश्यकता हेरेर तुरुन्तै फिल्डमा पुग्ने निष्कर्षमा पुगेका छौँ ।’

प्रधानमन्त्री देउवाले ठूलो क्षति हुने गरी देशभर भएका बाढी(पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर सेल्टर बनाउने, घरहरु पुनर्निर्माण गर्ने, राहत र पुनर्स्थापनाको कार्य गर्ने तथा धान बालीमा पुगेको क्षतिको विवरण आंकलन गर्ने र त्यसका आधारमा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

‘अन्य योजनामा छुट्टिएको बजेटलाई रकमान्तर गरेर भए पनि राहत र पुनर्स्थापनामा खर्च गर्न प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभयो । हामीले यसअघि नै निजी क्षेत्रबाट समेत हेलिकप्टर भाडामा लिएर उद्वार कार्य गरिरहेका छौँ,’ प्रवक्ता पोखरेलले भने ।

यता प्रवक्ता पोखरेलका अनुसार देशभर बाढी(पहिरो नरोकिएकाले क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन । राहत र पुनर्स्थापनाका लागि छुट्टै कोषको व्यवस्था गर्ने तयारी रहेको पनि उनले बताए । बैठकले कृषि बालीमा पुगेको क्षतिको विवरण संकलनको कार्य कृषि मन्त्रालयले गर्ने गरी निर्देशन दिइएको पनि उनले जानकारी दिए ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्