को हुन् बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे ? यस्तो छ राजनीतिक पृष्ठभूमि

काठमाडौं, कातिक ११ । बागमती प्रदेश सरकारको तेस्रो मुख्य मन्त्री बन्ने शौभाग्य राजेन्द्र पाण्डेले पाएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

एमालेका तर्फबाट धादिङ क्षेत्र १ (१) बाट विजयी बनेका पाण्डे बाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् ।

को हुन् मुख्यमन्त्री पाण्डे ?

धादिङ क्षेत्र १ (क) मा नेकपा एमालेबाट निर्वाचित पाण्डे २०१३ साल जेठ २९ मा धादिङ गजुरीमा जन्मिएका हुन्।

पाण्डे एमाले विभाजन भई बनेको एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन् । एमालेमा रहँदा माधवकुमार नेपाल निकट रहेका उनी आफ्नो राजनीतिक जीवन विद्यार्थीकालबाटै सुरु भएको बताउँछन् । विद्यार्थी बेलामै पसेको राजनीतिक चेतले आफूलाई कम्युनिष्ट बनाएको बताउने पाण्डेले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुअघि उनले शिक्षण पेसा अंगालेका थिए ।

राजनीतिमा आउनुअघि शिक्षण पेशामा आवद्ध पाण्डेले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्व समेत गरेका पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए ।

पाण्डेले २०५० वैशाख २० नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट तत्कालीन अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी २०५५ मा एमालेको केन्द्रीय सदस्य भए । धादिङमा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनी हाल नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष छन् । यसअघि पाण्डेले स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनी राजनीतिक आन्दोलनका क्रममा २०३३ मा ४२ दिन जेल परेका थिए । सो क्रममा उनी पार्टीको जेल कमिटीको सदस्यसमेत बनेका थिए । उनी झापा आन्दोलनमा पनि सक्रिय भएर आफ्नो भूमिका निर्वाह गरेका थिए ।

उनलाई २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो । पाण्डेसँग २०३६, २०३८ र २०४२ सालमा शिक्षक आन्दोलनको नेतृत्व गरेको अनुभव छ ।

गत भदौ २५ गते नेकपा एमाले विभाजनपछि भदौ २७ गते नेकपा एकिकृत समाजवादीमा आवद्ध १३ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

विश्वासको मत लिनैपर्ने कानुनी प्रावधान अनुसार अघि बढेकी शाक्यले अन्ततः विश्वासको मत नलिइ कात्तिक १० गते राजिनमा दिएपछि पाण्डे मुख्यमन्त्री बनेका हुन् । यसअघि डोरमणी पौडेल र शाक्य मुख्य मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्