छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु

काठमाडौं , कतिक २८ । । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  रौतहट, बारा, ललितपुर, प्युठान, धनकुटा, कैलाली, सिन्धुली, बाँके र सिन्धुपाल्चोकका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको हो ।

रौतहटको यमुनामाई गाउँपालिका–५, झुनखुन्वा चोकस्थित सडकमा यूके १२ सी २९०० नम्बरको कार अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा कारमा सवार हाल नाम, थर, वतन नखुलेका चारजना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

रौतहटकै गौर नगरपालिका–८, हनुमान चोकमा प्रदेश २–०३–००१ ह–४२५ नम्बरको ई–रिक्साबाट खसेर राजदेवी नगरपालिका–६, कडवाना टोल बस्ने ६० वर्षीया रमिला देवीको शनिबार साँझ मृत्यु भएको छ ।

बाराको कोल्हबी नगरपालिका–१, बटौलिया चोकमा ना४२प ८०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही ठाउँस्थित बटौलिया स्वास्थ्यचौकीको भवनमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार कोल्हबी नगरपालिका–१ बस्ने २० वर्षीय सागर चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय सुशील चौधरी रहेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोलमा वाग्मती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक महालक्ष्मी नगरपालिका–९, लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि ग्वार्कोस्थित बीएन्डबी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु हो ।

प्युठानको सरूमारानी गाउँपालिका–२, ददेरीस्थित सडकमा रा४प ५०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १२ वर्षीय सुदीप जिसीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि भालुवाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटाको पाख्रिबास नगरपालिका–८, लुम्बुवा टोलस्थित सडकमा को२त १०४३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर शनिबार दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरमा च्यापिएर ट्याक्टर चालक पाख्रिबास–७, थाक्ले बस्ने २१ वर्षीय टंकबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

कैलालीको कैलारी गाउँपालिका–८, लौशास्थित सडकमा भे११प ७३२४ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००२ त ४१४६ नम्बरको ट्याक्टर एकापसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी–८ बस्ने २२ वर्षीय विशाल कठरियाको घटनास्थलमै मृत्यु भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–५, डिहीस्थितसडकमा बा३ख८२३ नम्बरको मिनिट्रकको ढालाबाट खसेर सुनकोशी–५, काशीखर्क बस्ने ५८ वर्षीय विष्णुबहादुर थापाको शनिबार साँझ मृत्यु भएको छ । ढालाबाट सडकमा खसेर बेहोस भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८, भाटभटेनीस्थित सडकमा भे९प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नेपालगन्ज–१८ बस्ने ४५ वर्षीय विक्रम राईको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि नर्सिङहोम नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, फुर्स्रेस्थित सडकमा बा५ख ६५६३ नम्बरको ट्रक सडकबाट करिब ८० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा ट्रक चालक जुगल गाउँपालिका–२ बस्ने ३४ वर्षीय सीताराम दोङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि चौतारा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अरू दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्