नेपाली चलचित्रकर्मीलाई हिन्दी सिनेमा ‘सुर्यवंशी’ले सिकायो पाठ

काठमाडौँ , २९ कात्तिक । कोरोना कहर कम भएपछि दसैंअघि नै फिल्म हल खुल्यो । तर, निर्माता, वितरक, प्रदर्शक सबैमा एउटै डर थियो, दर्शक हलसम्म आउँछन् कि आउँदैनन् ? त्यसैले, नेपाली फिल्म प्रदर्शन गर्ने आँट कसैले देखाएन । यो बिचमा बलिउड फिल्म ‘सुर्यबंशी’ रिलिज भयो ।

बलिउडमा मात्र होइन, नेपालमा पनि यसले राम्रो दर्शक पाउन सफल भएपछि बल्ल नेपाली चलचित्रकर्मीहरु हलमा फिल्म प्रदर्शन गर्न हतारिएका छन् । त्यसो त ‘सुर्यबंशी’ को सफलतालाई कतिपय फिल्मकर्मीले हिन्दी फिल्मले नेपालमा जहिले पनि दर्शक पाउँछ भन्दै सामान्य रुपमा लिए । तर राम्रो फिल्म भए दर्शक हुने रहेछन् भन्ने ठम्याइ धेरैको रह्यो ।

वितरक गोपाल कायस्थ ‘सुर्यबंशी’ ले दर्शकको बिषयमा राम्रो पाठ सिकाएको बताउँछन् । ‘दर्शक आउँदैनन् भनेर हामी राम्रो फिल्म रिलिजका लागि पछि हटेका थियौँ,’ कायस्थले भने, ‘सुर्यबंशी’ ले हामीलाई राम्रो पाठ सिकायो ।’ बलिउड फिल्मकै भएपनि हलमा दर्शक देखिनु नेपाली फिल्मका लागि आगामी दिन राम्रो भएको कायस्थले अनुमान लगाएका छन् ।

शून्यमा झरेको हलका दर्शक फर्काउने काम ‘सुर्यबंशी’ ले गरेको चलचित्र संघका अध्यक्ष प्रधान पनि स्वीकार्छन् । डराएका दर्शकलाई ‘सुर्यबंशी’ ले हलसम्म ल्याएको बताएका प्रधान नेपाली फिल्मका दर्शक फर्काएको भने मान्न तयार छैनन् । ‘नेपाली फिल्मको दर्शक ‘सुर्यबंशी’ ले फर्कायो भन्नु गलत बुझाई हो’ प्रधानले थपे, ‘राम्रो फिल्ममा दर्शक आउँदा रहेछन् भनेर हामीले बुझ्नु र त्यहीअनुसार चल्नु जरुरी छ ।’

माघदेखि नियमित राम्रा नेपाली फिल्म हेर्न पाउनेमा ढुक्क रहन चलचित्र संघका प्रधान बताउँछन् । निर्माता, वितरक, चलचित्र बिकास बोर्ड लगायतसँग फिल्म रिलिजको बिषयमा १५÷२० वटा भन्दा बढी मिटिङ भइसकेको छ,’ प्रधानले भने, ‘दर्शकको चाहना अव पुरा हुन्छ ।’ निर्माता र वितरकले नै अहिले फिल्म रिलिजका लागि हतारो देखाउन थालेको प्रधानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्