नेपालले भारतलाई विजुली बेचेर दुई सातामै कमायो ६ करोड

काठमाडौं, कात्तिक ३०  । नेपालले छिमेकी भारतलाई अहिलेसम्म ६ करोड रुपैयाँ बढीको विद्युत् बेचिसकेको छ । विद्युत् बेच्ने अनुमति पाएको दुई साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु (नेपाली ६ करोड ३ लाख २३ हजार रुपैयाँ) को विद्युत् बेचिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार यही कात्तिक २३ गते सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा मूल्य प्राप्त भएको छ । यस्तै सबैभन्दा कम कात्तिक १८ गते प्रतियुनिट औसत ३ रुपैयाँ १३ पैसामा विद्युत् बिक्री गरिएको छ ।

प्राधिकरणका अनुसार हाल नेपालले भारतको एक्सचेन्ज मार्केटमा दैनिक ३९ मेगावाट (९३ हजार ६ सय युनिट) बिजुली बेचिरहेको छ । यसमध्ये २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट विद्युत् भारतमा लगिएको छ । स्वदेशमा बढी भएको विद्युत् मात्र भारत पठाइरहेको विद्युत् प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्