नेपाल टेलिकमको नाफा दुई अर्ब २६ करोड, प्रतिसेयर आम्दानी ६० रुपैयाँ माथि

काठमाडौं , कातिक ३० ।  नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नै दुई अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

जुत गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.९० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार खुद मुनाफा आजर्न गरेको थियो ।कम्पनीको सञ्चालन आयसँगै कुल आयमा भएको वृद्धि र खर्च घट्दा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।

गत आवको प्रथम त्रैमासिक अवधिमा कम्पनीले ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार सञ्चालन आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा सञ्चालन आम्दानी १३.२ प्रतिशत अर्थात् एक अर्ब १३ करोड ९९ लाख ५४ हजारले बढेर ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार पुगेको छ ।

यस्तै, कम्पनीको कुल आय पनि १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकोबाट बढेर १० अर्ब ९५ करोड २३ लाख ४६ हजार पुगेको छ । गत आवको प्रथम त्रैमासको तुलनमा चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ८४ करोड ७८ लाख ७१ हजार अर्थात् ८.३९ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको आम्दानीमा वृद्धि हुँदा पनि कर्मचारी तथा अन्य खर्चमा खासै वृद्धि नहुँदा ह्रास कट्टी, कर लगायतको प्रोभिजनभन्दा अगाडिको आम्दानीमा उल्लेख्य वृद्धि देखिन्छ । गत आवको प्रथम त्रैमासमा यस्तो आम्दानी तीन अर्ब ९७ करोड ४ लाख ९१ हजार रहेकोमा चालु आवको सोही अवधिमा ८४ करोड ४९ लाख ५७ हजार अर्थात २१.२८ प्रतिशतले वृद्धि भएर ४ अर्ब ८१ करोड ५४ लाख ४८ हजार पुगेको छ ।

फोर–जी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रीय ग्राहक आधार वृद्धि भई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवाको उपयोगमा उल्लेख्य वृद्धि हुँदा कम्पनीको आम्दानी बढेको जनाएको छ । यस्तै २जी/३जी सेवाको पहुँच नपुगेका स्थानहरूमा समेत २जी/३जी/४जी सेवाको पहुँच विस्तार भएकोले ग्राहक आधार वृद्धि भएको टेलिकमले जनाएको छ ।

यसबाहेक कम्पनीको फाइबर नेट सेवामा ग्राहकको आकर्षण बढेको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटीभी सेवाका ग्राहकहरू बढेर आम्दानी पनि बढेको टेलिकमले जनाएको छ ।

यस्तै, कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीले निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराउँदा कम्पनीका सेवाहरूप्रति ग्राहक आकर्षित भएर सेवा उपयोगमा वृद्धि भएको टेलिकमले जनाएको छ ।

कोभिड १९ महामारीमा अन्तर्राष्ट्रिय यात्रा सहज नहुँदा ओटीटी वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै भएपनि अनलाईन व्यवसाय, अनलाइन कक्षा, सोसियल नेटवर्कीङ, इनटरनेटमा आधारीत मनोरञ्जन आदिमा भएको वृद्धिले कम्पनीको भ्वाइस, डाटा र एसउमएस सेवामा वृद्धि भएको जनाएको छ । गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा भ्वाइस सेवा ७ प्रतिशत, डाटा सेवा १५ प्रतिशत र एसएमएस सेवा ३३५ प्रतिशतले बढेको जनाएको छ ।

कम्पनीले प्रकाशित गरेको वत्तीय विवरणअनुसार गत आवको यही अवधिमा ४० रुपैयाँ ४७ पैसा रहेकोमा बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात १६.९६ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्