सबैभन्दा धेरै कर तिर्नेमा राणा, यी हुन् उत्कृष्ट १५ करदाता (सूचीसहित)

काठमाडौं, १ मंसिर । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई आन्तरिक राजस्व विभागले बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर सम्मानित गरेको छ ।

गत वर्ष संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकम र व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर जबराले सर्वाधिक कर तिरेको विभागले जनाएको छ । लगातार ६ वर्षसम्म सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित हुँदै आएका राणा गतवर्ष भने दोस्रो स्थानमा थिए । यसवर्ष फेरि पहिलो नम्बरमा देखिएका छन् ।

विभागले कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल र पर्यटनतर्फ तारागाउँ रिजेन्सीलाई सम्मानित गरेको छ । त्यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड र बिमा कम्पनीतर्फ नेपाल पुनर्बिमा कम्पनी सम्मानित भएका छन् ।
छिमेक लघुवित्त वित्तीय संस्थालाई सहकारी तथा लघुवित्ततर्फ सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा सम्मानित गरिएको छ ।

जलविद्युत्मा हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि रहेको जनाइएको छ । त्यस्तै, व्यापारतर्फ भाटभटेनी र विशेष उद्योगतर्फ एसियन पेन्ट्सलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) सूर्य नेपालले तिरेको छ । त्यस्तै, घोराही सिमेन्टलाई पनि धेरै भ्याट तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको छ । मध्यमस्तरीय करदाता कार्यालयबाट सबैभन्दा बढी कर बुझाउनेमा भने कर्जा सूचना केन्द्र रहेको छ ।

कर तिर्नेमा उत्कृष्ट व्यक्ति तथा संस्था

१)सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
२) निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता– डाबर नेपाल (प्रा) लि
३) विशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता– एसियन पेन्ट्स (नेपाल) प्रालि
४) कृषि एवं पशुपक्षीजन्य उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता– पूर्वाञ्चल एग्रिटेक प्रालि
५) सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
६) बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता– नबिल बैंक लिमिटेड
७) बीमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता– नेपाल पुनर्बीमा कम्पनी लिमिटेड
८) स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता– नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि
९) पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता–तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
१०) वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता– भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि
११) मध्यमस्तरीय करदातामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता– कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड
१२) ऊर्जामूलक उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता– हिमाल पावर लिमिटेड
१३) व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता– सिद्धार्थ शमशेर जबरा
१४) सबैभन्दा बढी कर तिर्ने करदाता – सूर्य नेपाल प्रालि
१५) २०६६ साउनदेखि ०७८ असारसम्म मूअकको मासिक कर विवरण र सोबमोजिमको कर समयमै बुझाएर नियमित कर सहभागिता जनाएका करदातामध्ये आव ०७७ /०७८ मा सबैभन्दा बढी मूअक तिर्ने करदाता – घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेड

प्रतिक्रिया दिनुहोस्