एमालेमा सहमतिका साथ नेतृत्व चयन हुन्छ : ईश्वर पोखरेल

काठमाडौं, मंसिर १ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दशौं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व सहमतिका साथ चयन हुने बताएका छन् । बुधबार महाधिवेशन जनपरिचालन अभिमुखीकरण कार्यक्रममा उनलेयस्तो बताएका हुन् । महाधिवेशनमा कुनै प्यानल नबन्ने पनि उनले दाबि गरे ।

‘हाम्रो नेतृत्व भनेको सहमतिका साथ निर्माण हुनेछ । हाम्रो महाधिवेशनमा प्यानल बन्ने छैन । प्यानल बनाएको लिस्ट बाँडिने छैन’, उनले भने । महासचिव पोखरेलले अब एमालेलाई र मुलुकलाई हाँक्ने खालको नेतृत्व आउनुपर्ने औंल्याए । उमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।

महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो । एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ ।

चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ । ठूलो संख्यामा सहभागी हुँदा व्यवस्थित गर्न कठिनाइ हुन सक्ने भएकाले पूर्वतयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्