सातै प्रदेशका नौं अस्पतालबाट रेबिजविरुद्ध निःशुल्क सुइ लगाउने व्यवस्था

काठमाडौं, मंसिर २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही मंसिर ५ गतेबाट देशभरका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध निःशुल्क सुइ लगाउने व्यवस्था मिलाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रालयले ‘रेबिज इम्युनो ग्लोबुलिन’ को सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको जनाएको छ । मन्त्रालयले प्रदेश–१ को कोशी अस्पताल विराटनगर, प्रदेश–२ को जनकपुर अस्पताल धनुषा, बागमती प्रदेशको मदन भण्डारी, स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा, नारायण अस्पताल बीरगञ्ज र भरतपुर अस्पताल चितवनमा सो व्यवस्था मिलाएको हो ।

यस्तै, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा ‘रेबिज इम्युनो ग्लोबुलिन’ को सेवा प्रवाह गरिएको छ ।

तत्काल सातै प्रदेशका प्रमुख अस्पतालहरुबाट लिन सकिने सो सेवा आगामी दिनमा सबै जिल्लामा व्यवस्था मिलाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए । रेबिज लाग्नसक्ने शंकास्पद जनावरले टोकेमा देशका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा एन्टी रेबिज भ्याक्सिन टिकट शुल्क लिएर मात्र लगाउने व्यवस्था छ । ‘रेबिज इम्युनो ग्लोबुलिन’ को सेवा भने शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट मात्रै निःशुल्क प्रदान गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्