२५ दिनपछि इजलासमा फर्किए सर्वोच्चका सबै न्यायाधीश

काठमाडौं,  मंसिर  ३ । सर्वोच्च अदालतका सबै न्यायाधीश २५ दिनपछि इजलास फर्किएका छन् । प्रधानन्यायाधीशविरुद्ध आन्दोलन थालेर कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सबै न्यायाधीशले आज (शुक्रबार) देखि मुद्दा हेर्न थालेका हुन् ।

बिहीबार बसेको १८ न्यायाधीशको फुलकोर्ट बैठकले यसअघि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार गोलाप्रथा प्रणालीलाई लागु गराउने निर्णय लिएको थियो । योसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अधिकार कटौतीमा पर्नेछन् । शुक्रबारदेखि इजलास फर्किएका सबै न्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा पनि हेर्न थालेका छन् ।

तर गोलाप्रथा प्रणालीद्वारा पेशी तोक्नुअघि उनीहरुले दुई पक्षीय बहसका मुद्दामा सुनुवाइ गर्ने छैनन् । उनीहरुले शुक्रबारदेखि मिलापत्र, तामेली, निवेदन फिर्ता र संशोधनसहितका मुद्दा हेर्न थालेका छन् । शुक्रबारबा लागि जबराले १० वटा इजलास तोकेका छन् ।

तर उनले आफ्नै लागि भने कुनै इजलास तोकेका छैनन् । यसअघि कात्तिक ३० मा ५ जना न्यायाधीश इजलास फर्किएर मुद्दा हेर्न थालेका थिए । सर्वोच्चका न्यायाधीशहरु आन्दोलन छाडेर काम फर्किए पनि नेपाल बार एशोसिएसनले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्