काठमाडौंमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव हुदैँ

काठमाडौँ , ६ मंसिर। लोक संस्कृतिको पहिचानसँगै लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यका साथ काठमाडौँमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ हुने भएको छ ।

चैतको दोस्रो हप्ता पाँच दिनसम्म काठमाडौंको टुँडिखेलमा महोत्सव गर्न लागिएको आयोजक डीएआर मूभिजका सञ्चालक समिति सदस्य श्याम धितालले जानकारी दिए ।

महोत्सवमा दुई सय बढी स्टल रहने, विभिन्न जिल्लाको स्थानीय कला–संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाका स्थानीय कलालाई देखाउने गरी कार्यक्रम गरिने उनले बताए ।

आयोजक संस्था डीएआर मुभिजले यसअघि २०७६ साल फागुनमा टुँडिखेलमै प्रथम ‘राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव’को आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ जिल्लाका सांस्कृतिक झाँकीसहितको ¥याली गरिएको थियो । पाँच दिनसम्म चलेको उक्त महोत्सव पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

यस पटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’मा दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा प्रवेश निःशुल्क गरिनेछ । विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्