एमालेलाई बारले भन्यो : न्यायालयको संकट छिटो समाधान होस्

काठमाडौँ , ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले न्यायालयको संकट समाधान गर्न राजनीतिक दलहरुले छिटो सोच्नुपर्ने अवस्था रहेको बताएको छ ।

सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ज्ञापनपत्र बुझाउँदै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा देखिएको समस्या जतिसक्दो चाँडो समाधान गर्न आग्रह गरे । उनले भने, ‘यो संकट चाँडै समाधान होस् भन्ने हाम्रो चाहना हो ।’

ज्ञापनपत्र बुझ्दै एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले ज्ञापनपत्र पार्टीको स्थायी कमिटी बैठकमा पेश गर्ने बताए । उनले सकेसम्म कानून व्यवसायीले आन्दोलन गर्नु नपरेको भए राम्रो हुने भन्दै आन्दोलन भइसकेकाले यो कुरा पार्टीमा उठाउने जानकारी दिए।

उनले भने, ‘बारले जुन आन्दोलन चलाएको छ, यो अवस्था भरसक नआएको भए हुने थियो। त्यहीँबाट समाधान भएको भए हुन्थ्यो। न्याय पाउन नसकेको अहिलेको अवस्थामा हामी नै बोलेको जस्तो भएको छ। समयमा रिट निवेदन हाम्रै पनि सुनुवाई भएका छैनन्। यसरी कानुन व्यवसायी सडकमा नआउन परेको भए हुने थियो। तर अवस्था आइसक्यो । यो पार्टी अध्यक्ष र आजको स्थायी कमिटी बैठकमा पेश गर्नेछु। पार्टीको ध्यानाकर्षण गर्ने कुरामा म पहल गर्ने छु।’

बारले सोमबार नेपाली सत्तारुढ दल नेपाली कांग्रेसलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । तर, समय नमिलेको बारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्