गतिलिंदै सेयर बजार, पर्ख र हेरको अवस्थामा लगानी कर्ता

काठमाडौं, ६ मंसिर । सेयर बजारमा सोमबार सामान्य सुधार भएको छ । सूचक सामान्य हिसाबले वृद्धि हुँदा खरिदबिक्री रकम भने घटेको छ । यस दिन नेप्से सूचक ७.९० अंकले बढेर २७६५।४३ विन्दुमाआई बन्द भएको छ । सोमबार ३ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २२५ कम्पनीको ७५ लाख ६५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १३ मध्ये ८ वटा समूह सकारात्मक भएका छन् । बाँकी समूहका भने घटेका छन् ।
समग्रमा बजार माथितिरै जाने प्रयास गरिरहेको देखिन्छ । जुन गतिमा बढुनुपर्ने त्यो भने सकेको छैन । यसले गर्दा लगानीकतौहरु पर्ख र हेरको अवस्थामा छ । यतिबेला सेयर बजार मौद्रिक नीति समीक्षाको पर्खाईमा देखिएको छ । तरलता सहज हुने कुनै टुल्स आउन सक्यो भने त्यसले सेयर बजारको गति लिने छ ।

बैंकहरुको सीडी रेसियो टाइट भएकाले पर्याप्त मात्रामा कर्जा प्रवाह गर्न सकिरहेका छैनन् । यसमा केही लचकता हुन सक्यो भने वित्तीय संस्थालाई कर्जा प्रवाहमा सहज हुनेछ । तरलता सहज भएपछि बैंक ब्याजदर पनि नियन्त्रणमा आउन सक्नेछ । जसको सकारात्मक र प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिनेछ । यसअघि केन्द्रीय बैंककै नीतिका कारण बजार प्रभावित भएको लगानीकर्ता भनाई छ ।

तर, अहिले केन्द्रीय बैंकलाई पनि तरलता सहज पार्नका लागि आवश्यक मौद्रिक उपकरणहरु ल्याउनुपर्ने बाध्यता रहेको छ । यसआधारमा सेयर बजारको आगामी यात्रा सुखद् हुने अपेक्षा गरिएको छ । यतिबेला सर्वसाधारण लगानीकर्ताहरुले नेप्सेको चाल सुक्ष्मरुपमा हेरिरहेको देखिन्छ । बजार बढ्न थालेपछि खरिदबिक्री रकममा पनि तिब्रता आउने छ । विगतमा पनि करेक्सनपछि बजार फेरि बढ्न थालेको केही दिनपछि मात्र खरिदबिक्री रकममा तेजी आउने गरेको थियो ।

बजार बढ्ने निश्चित देखिएपछि आम लगानीकर्ता बजारमा प्रवेश गर्ने र अनिमात्र खरिदबिक्री रकममा तेजी आउने प्रवृत्ति रहँदै आएको छ । बैंकमा तरलता टाइट अनि सोही कारण ब्याजदरमा वृद्धि गरिंदा पनि खरिदबिक्री रकममा संकुचन आएको हो । अहिले सेयर बजारको मुख्य सिजन चलिरहेको छ । सूचीकृत कम्पनीहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । नाफा औसतमा बढेको देखिएको छ ।

कम्पनीहरुको लाभांश प्रस्ताव गर्नेक्रम पनि जारी छ । धेरैले बुक क्लोज मिति तय गरी साधारण सभा पनि गरिरहेका छन् । अब धमाधम लगानीकर्ताको खातामा लाभांश जम्मा हुन थाल्नेछ । यी परिदृश्यहरुका कारण सेयर बजार क्रमशः सकारात्मक बन्दै जाने विश्लेषण गर्न सकिन्छ । बजार बढ्दा होस् वा घट्दा लगानीकर्ताले कम्पनीहरुको बारेमा निरन्तर अध्ययन गर्नुपर्छ ।

लगानी गर्ने वा गरिएका कम्पनीको प्रमुख वित्तीय सूचक ख्याल गर्नुपर्छ । लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावना, भावी योजना पनि हेर्नुपर्छ । लगानी गर्दा जोखिम बहन क्षमतामा पनि ध्यान दिन बिर्सिन नहुने विश्लेषकहरु बताउँछन् । लगानीकर्ताहरुले कहिले किन्ने अनि कहिले बेच्ने, कुन सेयर कति मूल्यमा किनबेच गर्ने भन्ने विषयमा पनि उत्तिकै ख्याल गर्नुपर्ने हुन्छ ।

अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कुन अवधिका लागि किन्ने भन्ने यकिन हुन जरुरी छ । लगानी गरिएका कम्पनीको आधारभूत पक्षमा ध्यान दिन पनि भुल्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्