प्रधानन्यायाधीशविरुद्ध बिहीबार बार र नागरिक समाजले सर्वोच्चदेखि बालुवाटारसम्म ‘मार्चपास’ गर्ने

काठमाडौँ , मंसिर ७ – नेपाल बार एसोसिएसनलगायत विभिन्न पेसागत संगठनको सहभागितामा बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘मार्चपास’ गरिने भएको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने छ ।

बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारी दिए । ‘नागरिक समाजका सदस्यसहित ९ गते २ बजे बालुवाटारसम्म मार्च पास गरिनेछ । जनताका लागि न्याय चाहिएकाले जनता उठ्नुपर्ने भएको छ,’ उनले भने ।

बारले अदालतमा जारी विवादबारे शान्ति र लोकतन्त्रका लागि पेसागत संगठन सञ्जाल(पापड)सँग छलफल गरेको थियो । बालुवाटारमा नै धेरै कुरा तय हुने र प्रधानन्यायाधीश जबरा लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्च गर्नुपरेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि दलहरूलाई धारणापत्र बुझाएको छ । बुधबार १८ वटा उच्च अदालतमा पनि विरोध सभा गर्न लागेको छ ।

यता प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध यति बेला प्रदर्शन भइरहेको छ । आज पनि व्यवसायीहरुले धर्ना दिएका छन् । अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई एकदिन पनि पदमा बस्ने अधिकार नभएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्