सबै न्यायाधीशले राजीनामा दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं, मंसिर ७ ।  प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा गर्नपर्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार र नेपाल बार एसोसिएसन विरोध प्रदर्शनमा रहेको बेला अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

सम्पादकहरूसँग मंगलबार अन्तरक्रिया गर्दै ओलीले भने, ‘अमूक व्यक्ति, फलानो हटिदिएपछि यो सिलसिला अन्त्य होलाजस्तो लाग्दैन । म त सबैले राजीनामा गर्नुपर्ने खालको अवस्था देख्छु ।’

अहिले सर्वोच्च अदालतमा भइरहेका घटना दुःखद् रहेको पनि उनको भनाइ थियो । त्यसको अन्त्य प्रधानन्यायाधीश जबराले राजीनामा गरेर नहुने ओलीको ठहर थियो । अरु न्यायाधीशमाथि पनि प्रश्न उठेकाले सबैले राजीनामा गर्नुपर्ने उनले बताए । ‘उहाँहरूप्रति प्रश्न उठिसकेपछि, सेटिङमा फैसला गरिसकेको देखिइसकेपछि उहाँहरूले त राजीनामा गर्नुपर्ने,’ उनले भने ।

ओलीले थपे, ‘फलानोले राजीनामा गर्दा हुन्छ भनेजस्तो कुराले न्यायिक क्षेत्रको प्रदूषण त्यति एउटा कुराले हट्ला जस्तो मलाई लाग्दैन ।’

आफूलाई प्रधानमन्त्रीबाट हटाएर शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएकोप्रति ओलीले आक्रोश व्यक्त गरेका थिए । प्रधानन्यायाधीश विरुद्ध यति बेला सर्वोच्चमै गएर धर्ना तथा विरोध प्रदर्शनका कार्यक्रम बारले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्