अब हामीले धेरै दिन आन्दोलन गर्नुपर्दैन, जबरा गलिसकेका छन् : टीकाराम भट्टराई (अन्तर्वार्ता)

काठमाडौं, मंसिर ७ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध यति बेला प्रदर्शन भइरहेको छ । आज पनि व्यवसायीहरुले धर्ना दिएका छन् । अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले पनि प्रधानन्यायाधीश जबरालाई एकदिन पनि पदमा बस्ने अधिकार नभएको बताएकी छिन् ।

जबराविरुद्ध पापडले बिहीबार मार्चपास गर्ने भएको छ । त्यसैगरि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अब आफुहरुले धेरै दिन आन्दोलन गर्नु नपर्ने बताएका छन् । उनले जबरा गलीसकेको पनि उल्लेख गरेका छन् । यसै विषयमा रहेर उनीसँग गरिएको कुराकानी

प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा नेपाल बार एक्लिएको हो ?

हाम्रो आन्दोलनमा सहभागीको संख्या झन् बढेको छ । आन्दोलनले देशव्यापी आकार ग्रहण गर्दै छ । यसको क्षेत्र विस्तार हुँदै गएको छ । पापडले पनि ऐक्यबद्धता जनाएको छ । बौद्धिक संस्थाहरूले हामीलाई साथ दिएका छन् । स्तम्भकारहरूले राजीनामाको पक्षमा लेखेका छन् । देशव्यापी प्रसारप्रसार भएको छ, व्यापकता ग्रहण गरिएको छ । हामीलाई चौतर्फी सहयोग र समर्थन आएको छ ।

प्रधानन्यायाधीशको राजीनामा मागेर बारले आन्दोलन गरेको चौथो साता लाग्यो । तर, अहिलेसम्म राजीनामा आएको छैन । प्रधानन्यायाधीशले नैतिकता देखाएर राजीनामा गर्छन् भन्ने अपेक्षा गर्नुभएको छ कि आन्दोलन अझै चर्काउने योजना छ ?

जसको उच्च नैतिकता हुन्छ, उसले पो नैतिकताको ख्याल गर्छ । जसको नैतिकतााथि नै विवाद थियो, प्रश्न थियो, उसबाट के अपेक्षा गर्ने ? उच्च अदालतमा हुँदा, सर्वोच्चको न्यायाधीश हुँदा, पछि प्रधानन्यायाधीश बन्दा पनि उहाँ (जबरा)को बारेमा विवाद नै भयो । दुई–दुईवटा फैसलाबाट न्यायिक टिप्पणीमार्फत कारबाही गर्न न्यायपरिषद्मा लेखेर पठाइएको थियो । उहाँले सहजै नैतिकता प्रदर्शन गर्नुहुन्न भन्ने थाहा छ । उहाँ थुप्रै नैतिक प्रश्न पन्छाएर, पेलेर यहाँसम्म आउनुभएको हो । हामीले हाम्रो एकता र बलका आधारमा सबै कानुन व्यवसायी एक भएर राजीनामा गर भनेका हौँ, उहाँबाट नैतिकताको आस गरेका होइनौँ ।

प्रधानन्यायाधीशले राजीनामा नदिने अडान कायमै राख्नुभयो भने बारको आन्दोलन कहिलेसम्म चल्छ ?

उहाँ भित्रभित्रै गलिसक्नुभएको छ । गलेजस्तो नदेखिनुभएको मात्र हो । उहाँका पुर्खाले एक सय चार वर्षसम्म शासन गरेका थिए । तर, अब हामीले आन्दोलन धेरै टाढासम्म गर्नुपर्लाजस्तो लाग्दैन । उहाँ केही दिनपछि सर्वोच्च आउन छाड्नुहुन्छ ।

प्रधानन्यायाधीशविरुद्ध संघर्षरत न्यायाधीशहरूसँग तपाईंहरूको सहकार्य टुटेको हो ?

उहाँहरूसँगको सहकार्य घोषित होइन । स्वतन्त्र, बिचौलिया र भ्रष्टाचारमुक्त न्यायपालिकाको पक्षमा मत मिल्नु संयोग हो । यो कुनै योजनामा गरिएको सहकार्य होइन । तर, उहाँहरू कोहीले पनि आफूलाई बिचौलिया र भ्रष्टाचारीको कित्तामा उभ्याउनुहुन्न भन्ने विश्वास छ । युद्धमैदानजस्तो भएको सर्वोच्च अदालतमा उहाँहरूले न्याय सम्पादन गर्न सक्नुहुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन । यस्तोमा स्वच्छ र स्वतन्त्र सुनुवाइसमेत हुन सक्दैन । बाँकी न्यायाधीशहरूलाई हाम्रो अनुरोध के हो भने युद्धबन्दी भएर न्याय सम्पादन गर्न सकिँदैन । बरु दंगा प्रहरी हटाउन अनुरोध गर्नुस् । नयाँ पत्रिकाबाट 

 

प्रतिक्रिया दिनुहोस्