लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबैको सहयोग आवश्यक : प्रधानम देउवान्त्री

 

काठमाडौं, मंसिर ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरेका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उनले अभियानलाई प्रभावरकारी रूपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरे । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष नेपालमा पनि ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको छ ।

देशव्यापी रुपमा लैङ्गिक हिसाविरुद्धको अभियानमा अग्रसर भई हिंसा न्यूनीकरणमा योगदान पुर्‍याउने राजनीतिकर्मी, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय सरकार तथा गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला सम्पूर्ण निकायको समन्वयमा सुरक्षित तरिकाले विभिन्न कार्यक्रम आआफ्नो स्थानबाट अभियानका रूपमा सञ्चालन गरिने उनले बताए ।

सन्देशमा भनिएको छ, ‘यस अभियानले हामी सबैलाई कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र हानिकारक अभ्यासका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्णरूपमा अन्त्य गर्न थप ऊर्जा मिलोस् ।’

उनले अभियानमा मुलुकभर विभिन्न तह र निकायबाट सञ्चालन हुने क्रियाकलापले लैङ्गिक हिंसारहित सभ्य र समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । लैङ्गिक हिंसाको अन्त्य गर्न, हिंसापीडित तथा प्रभावितको मानवाधिकारको संरक्षण र सम्वर्द्धनका लागि संवेदनशील हुुनुका साथै लैङ्गिक हिंसा अन्त्य गर्ने सरकारको अभियानमा सबैको प्रतिबद्धता र ऐक्यबद्धताका गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड छ ।

प्रतिक्रिया दिनुहोस्