कांग्रेस अधिवेशन: ३२ जिल्लाको नतिजा आउँदा कहाँ कुन पक्ष अगाडि ?

 

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनअन्तर्गत आजसम्म ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । बाँकी जिल्लामा पूर्व निर्धारित कार्यतालिकाअनुसार शुक्रबारदेखि जिल्ला अधिवेशन प्रारम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये रसुवाबाहेक सबैमा पार्टीको जिल्ला अधिवेशन भएको र परिणाम आउने क्रममा रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।यसैगरी १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हाल १२२ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भएको र बाँकीमा अधिवेशन हुने क्रममा रहेको उनले बताए ।

अधिवेशन प्रारम्भ भएका जिल्लामा मतदान भई परिणाम प्राप्त भइरहेको, मनोनयन गरी मतदान भइरहेको, सर्वसम्मतिको प्रयास भइरहेको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जना र बढीमा २७ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ ।

हाल प्रारम्भ भइसकेका १२२ निर्वाचन क्षेत्रबाट तीन हजार बढी महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ ।

कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ गते लागि निर्धारण गरिएको थियो ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन मंसिर १० गते शुक्रबार हुदैछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ । क्रियाशील सदस्यताको विवादका कारण ढिलाइ भएको एक मात्र जिल्ला सर्लाहीमा भने शुक्रबार वडा अधिवेशन प्रारम्भ हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्