सरकार विपन्न वर्गका लागि सुरक्षित आवास निर्माण गर्ने तयारीमा छ : मन्त्री झाँक्री

काठमाडौं , मंसिर ९ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपन्न र पछाडि परेका वर्गका लागि सरकार सुरक्षित आवास निर्माण गर्न लागिपरेको बताएकी छन् । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र एसिया सेल्टर फोरमले संयुक्त रूपमा आज आयोजना गरेको वार्षिक सम्मेलन कार्यक्रममा मन्त्री झाँक्रीले संविधानमा मौलिक हकका रूपमा रहेको आवासको हक कार्यान्वयन गरिने बताइन् ।

सरकारले आवधिक विकास योजना र अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिवद्धताका आधारमा नागरिकलाई आवासको व्यवस्थापन गरिरहेको मन्त्री झाँक्रीको भनाइ छ । प्रदेश सरकारसँगको सहकार्यमा जनता आवास कार्यक्रममार्फत विभिन्न जिल्लामा आवास निर्माणमा नागरिकलाई सहयोग गरिरहेको उनले बताइन् । “आवास निर्माण गर्ने अवस्था नभएका नागरिकका लागि घर बनाइरहेका छौँ,” उनले भनिन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिइन् । बाँकी काम विभिन्न मन्त्रालयको जिम्मा लगाइएको उनको भनाइ छ । स्थानीयस्तरमा भएका सामग्रीको प्रयोग गरेर ग्रामीण क्षेत्रमा आवास निर्माण गर्दै आएको ज्ञवालीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्