कोरोनाको नयाँ भेरिएन्टको सन्त्रास, जोखिम कति ?

काठमाडौं ,मंसिर १२ । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ रूप ‘ओमिक्रोन’ देखिएपछि विश्वभर सन्त्रास छाएको छ । नयाँ भेरियन्टलाई ‘बी.१.१.५२९’ नाम दिइएको छ । वैज्ञानिकहरूले यो नयाँ भेरिएन्टको फैलने गतिलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी)’द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरिएन्ट गत सोमबार पत्ता लागेको हो । दक्षिण अफ्रिकामा २२ वटा नमुना परीक्षणमा कोरोनाको नयाँ भेरिएन्ट देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण अफ्रिकामा हालसम्म २४ प्रतिशतले मात्रै पूर्ण खोप लगाएका छन् । हालसम्म कोभिडको यो भेरिएन्ट दक्षिण अफ्रिकाबाहेक बोत्सवाना, हङकङ र इजरायलमा गरी ६१ जनामा देखिएको छ ।

यदि यो भाइरस फैलिएमा विश्वभर कोभिड–१९ विरुद्ध लगाइएको खोपको प्रभावकारिता समेत निष्प्रभावी हुन सक्ने वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । नयाँ भेरिएन्टलाई रोक्ने एक मात्रै उपाय भनेको बन्दाबन्दी र सामाजिक दूरी मात्रै भएको वैज्ञानिकको भनाइ छ ।
दक्षिण अफ्रिकी मुलुकलगायत अन्य देशमा पनि कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि बेलायती स्वास्थ्यमन्त्री साजिद जावेदले ट्वीट गर्दै भनेका छन्, ‘हामी नयाँ भेरिएन्टको अनुसन्धान गर्दै छौं । थप तथ्यांकको आवश्यकता छ । हामी अहिले सावधानी अपनाइरहेका छौं ।’
उनका अनुसार ६ वटा अफ्रिकन देशहरू रातो सूचीमा राखिनेछन् र आउने यात्रुहरूले क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

डब्ल्यूएचओले नयाँ भेरियन्टको प्रभाव बुझ्न केही साता लाग्ने बताएको छ । यो भाइरसको संक्रमण फैलने दर कति हुन्छ भनेर हेरिनुपर्ने र प्रभाव कम गर्ने सक्ने उपायको खोजी गरिनुपर्ने वैज्ञानिकले भनेका छन् ।

अक्सफोर्ड विश्वविद्यालयका संरचनात्मक जीव विज्ञान प्रोफेसर जेम्स नैस्मिथले नयाँ भेरिएन्टले खराब अवस्थाको सिर्जना गर्ने भए पनि भयंकर अवस्था आउन नसक्ने बताएका छन् ।

भारतसहित ६ देशले लगाए यात्रा प्रतिबन्ध

तीव्र गतिमा फैलन सक्ने कोरोनाको नयाँ भेरियन्ट अफ्रिकामा देखिएसँगै भारतले आफ्नो देशमा आउने विदेशी नागरिकलाई कडाइ गरेको छ । भारतले हाल अफ्रिका, बोत्सवाना र हङकङबाट आउने यात्रुलाई पहिलेभन्दा कडाइका साथ स्क्रिनिङ गरिने घोषणा गरेको छ ।

बेलायतले नयाँ भेरिएन्ट भित्रिन नदिन दक्षिण अफ्रिकालगायत ६ वटा अफ्रिकी मुलुकबाट हुने आवागमनलाई रोक लगाउने निर्णयसमेत गरेको छ । नेपालीहरूको बाक्लो उपस्थिति रहेको हङकङमा कोरोनाको नयाँ भेरिएन्ट देखिनुले पनि नेपाल जोखिमको सूचीमा रहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सहित विश्व नै त्रासमा रहिरहेका बेला छिमेकी देश भारतले बाहिरबाट आउने यात्रुलाई कडाइ गरेको हो । अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि अमेरिका, क्यानडा, बेलायत, युरोपेली संघ, जापान, इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनलगायतका देशले दक्षिण अफ्रिकासहित अफ्रिकाका सात/आठ देशका विमान र यात्रुलाई प्रवेशमा रोक सुरु गरिसकेका छन् । दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावीबाट आउने उडानमा प्रतिबन्ध लगाइएको हो । सिंगापुरले ७ अफ्रिकी मुलुकबाट हुने यात्रामा शनिबारदेखि ४ हप्तासम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

अस्ट्रेलियाले शनिबार दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्सवाना, लेसोथो, इस्वाटिनी, सेसेल्स, मलावी र मोजाम्बिकबाट हुने उडान १४ दिनका लागि स्थगित गर्ने घोषणा गरेको छ । त्यस्तै, जापानले शनिबारदेखि दक्षिणी अफ्रिकाका धेरैजसो यात्रुहरूले १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने र त्यस अवधिमा कुल चारवटा परीक्षण गर्नुपर्ने घोषणा गरेको छ ।

क्यानडाले पछिल्लो १४ दिनमा दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्सवाना, लेसोथो, इस्वाटिनी वा मोजाम्बिक हुँदै यात्रा गरेका सबै विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको छ ।

नेपालमा हालसम्म देखिएका कोरानाका भेरिएन्ट

नेपालमा हालसम्म डेल्टा प्लससहित अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा मानवीय क्षति बढी भएको थियो । डेल्टा भेरिएन्टले नेपालमा संक्रमित दर र मृत्युदर बढाएको थियो । पछिल्लो समय क्रमिक रूपमा कम हुँदै गएको संक्रमित दर नयाँ भेरिएन्ट भित्रिए अवस्था जटिल हुन सक्ने देखिन्छ । वैज्ञानिकहरूले अहिले दक्षिण अफ्रिकामा देखिएको भेरिएन्टले गम्भीर अवस्था ल्याउनेमा चिन्ता व्यक्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्