राप्रपाको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै

काठमाडौं, १६ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनको प्रक्रिया बिहीबारदेखि सुरु हुँदैछ । राप्रपाको एकताको राष्ट्रिय महाधिवेशन बुधबारबाट सुरु भएको बिहीबार निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो ।

भावी नेतृत्वको लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने पार्टी एकताका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन पक्षमा छन् ।

अध्यक्षका दावेदार थापा र लिङ्देन दुवैले राजसंस्था र हिन्दुराज्य पुनस्र्थापना तथा संघीयता खारेजीको एजेण्डा अघि सारेका छन् । उदघाटन सत्र सकिएलगत्तै काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको थियो । देशभरबाट ४२ सय प्रतिनिधिहरू सहभागी रहेको बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, अर्का अध्यक्ष जबराले सामाजिक कार्यपत्र र डा. लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रहरुमाथि बुधबारदेखि नै छलफल सुरु भएको छ । छलफल बिहीबार पनि जारी रहने र त्यो सकेर नेतृत्व चयन प्रक्रिया सुरु हुने राप्रपाका नेताहरुले जनाएका छन् ।

महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुनेछन् । पार्टी अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने राप्रपाको विधानमा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्