नेप्से सूचकमा भारी गिरावट

काठमाडौं, १६ मंसिर । सेयर बजार नेप्से सूचकमा बिहीबार भारी गिरावट आएको छ । यस दिन नेप्से सूचक ४९।०४ अंकले घटेर २५८४।६१ विन्दुमा झरेको छ । आझ बजारको नेप्से सूचक २६ सय विन्दुभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा खरिदबिक्री रकम भने सामान्य बढेको छ । ३ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

विकास बैंक समूह सबैभन्दा धेरै ३।८२५ ले घटेको छ । त्यसपछि, फाइनान्स समूह ३।७६५ ले घटेको छ । सेयर बजारमा भारी गिरावट आएपनि भर्खरै सूचीकृत भएका सामलिङ पावर र न्यादी हाइड्रोपावरको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको सबैभन्दा बढी १२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
पछिल्लो समय वित्तीय प्रणालीमा लगानीयोग्य रकम संकुचित हुँदा सेयर बजार प्रभावित भएको बुझाइ छ । बुधबार केही सम्हालिन खोजे पनि बिहीबार लगानीकर्ताको मनोबल कमजोर देखिएकोले बजार ओरालो लागेको हो ।

यस्तै, अहिले एकाएक फैलिन थालेको कोरोना भाइरसको नयाँ भेरियन्टका कारण पनि कतिपय लगानीकर्ता आत्तिएको अनुमान गरिएको छ । सेयर बजार घट्ने बढ्ने क्रम चलिरहन्छ । लगानीकर्ताले आफ्नो अध्ययन र विवेकका आधारमा अगानी गर्नुपर्दछ ।

अहिले सेयर बजारको सिजन चलिरहेका कारण घटेको बजारलाई मौकाको रुपमा पनि लिन सकिन्छ । सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने र साधारण सभा बोलाउने क्रम बढेको छ । तसर्थ, अहिले सेयर खरिद गर्नेलाई छोटो समयमै लाभांश हात पार्ने मौका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्