शहीद स्मारक ए डिभिजन लिगः आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदै

काठमाडौं, १७ मंसिर । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । आज शुक्रबार हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

आज फ्रेण्ड्स र थ्री स्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ । पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा पराजित भएको थियो । यो सिजनमा फ्रेण्ड्सले जित हात पार्न सकेको छैन ।
त्यस्तै थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सतदोबाटोसँग पराजित भएको थियो ।

यसअघि २०७६ मा भएको लिगमा फ्रेण्ड्सले थ्री स्टारलाई पराजित गरेको थियो । फ्रेण्ड्सले यसपटक पनि त्यही इतिहास दोर्होयाउने लक्ष्य रहेको छ । फ्रेण्ड्स पहिलो जितको खोजीमा रहँदा थ्री स्टार पनि जितको लयमा फर्कने दाउमा छ ।

उता नवप्रवेशी सातदोबाटोले ए डिभिजन लिगमा गज्जब सुरुआत गरेको छ । पहिलो खेलमा फ्रेण्ड्ससाग बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारलाई हराएको थियो । एपीएफ भने लगातार दुई खेल हार्दै अंकविहीन छ । एपीएफ पहिलो अंक जोड्ने योजनामा हुनेछ । आज हुने खेलले थप प्रतिस्पर्धा बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्