एकै विद्यालयका २६ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि, पठनपाठन बन्द

काठमाडौँ , १७ मंसिर । बागलुङको बलेवा क्षेत्रको एक विद्यालयमा अध्यानरत २६ जना विद्यार्थीमा कोरोना पुष्टि भएको छ । जसको कारण पठनपाठन बन्द गरिएको छ ।

बागलुङ नगरपालिका १३ को त्रिभुवन माविमा अध्ययनरत विद्यार्थी र शिक्षकमा कोरोना पहिचान भएको हो । शंकास्पद ८२ जना विद्यार्थीको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई जना शिक्षकमा कोरोना पहिचान भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो ।

कोरोना समुदायस्तरमा फैलिनबाट रोक्न तत्काल पठनपाठन रोक्न अनुरोध गरेको उहाँले बताउनुभयो । उक्त विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुरोध गरेको खनालले बताउनुभयो । पहिलो चरणमा सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पहिचान भएको थियो ।

बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्वर वडा पर्छन् । समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । घिमिरेका अनुसार विद्यालय भएको समुदायको तीन जनामा समेत कोरोना पुष्टि भएकाले धेरै मात्रमा समुदायमा कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको अनुमान छ ।

उक्त क्षेत्रमा स्वास्थ्य कार्यालयको टोली शुक्रबार जाने र अवस्था बुझेपछि जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिले निर्णय गर्ने स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो ।

बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय सङ्क्रमित रहेकामा बिहीबारमात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । अहिले धवलागिरि अस्पताल बागलुङको आइसोलेशनमा दुई सङ्क्रमित उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्