आंशिक प्राध्यापकहरुको आन्दोलन : १५ वर्षदेखि नसुल्झिएको मुद्दा

काठमाडौँ , १९ मंसिर। शिवहरि पौडेलले ललितकला क्याम्पसमा आंशिक प्राध्यापकको रुपमा संगीत सिकाउन थालेको १२ वर्ष भयो ।

आफैं त्रिभुवन विश्वविद्यालयका उत्पादन रहेका उनको मेहनत अरु (स्थायी अथवा करार सेवाका) प्राध्यापकहरुभन्दा भन्दा रत्तिभर कम छैन । तर समान ज्याला भने कहिल्यै पाएका छैनन् ।

आंशिक प्राध्यापकहरुले गरिरहेको आन्दोलनमा भेटिएका पौडेल भन्छन्, ‘म आफैं त्रिविको उत्पादन हुँ । त्रिविले मलाई सर्वोत्कृष्ट अंकसहित प्रमाणपत्र दिएको छ । त्यही आधारमा पढाउन पनि दिएको छ । तर तलब दिँदा चाहिँ करार अथवा स्थायीले खाने एक महिनाको तलब जत्ति मैले वार्षिक तलब थाप्नुपर्ने अवस्था छ ।’

१५ मंसिर २०६५ देखि ललितकला क्याम्पसमा नियमित अध्यापन गराइरहेका उनी त्रिविले लामो समयदेखि श्रम शोषण गर्दै आएको आरोप लगाउँछन् ।

आंशिक प्राध्यापकहरु सम्झौता कार्यान्वयनको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् । देशभरका करिब दुई हजार आंशिक प्राध्यापकमध्ये करिब ३०० काठमाडौंमा भेला उपकुलपतिको कार्यालय अगाडि धर्ना दिइरहेको आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुले बताए ।

महेन्द्ररत्न क्याम्पस, ताहाचलका आंशिक प्राध्यापक शेरबहादुर खत्री आन्दोलन गर्नुपर्ने आफूहरुको बाध्यता भएको बताउँछन् । भन्छन्, ‘हामीले श्रम गरेबापतको तलब देऊ भनेका हौं । समान काम गरेपछि ज्याला पनि समान पाउनुपर्छ ।’

६६ सालदेखि बीएडमा भौतिक विज्ञान पढाउन थालेका उनले ७० सालपछि एमएडलाई पनि पढाउन थालेका थिए । ‘अध्यापन गरेको केही समयपछि कार्यक्षमताका आधारमा मासिक तलब दिन्छ होला भन्ने आश गरेर अध्यापनमा लागें’ उनले भने, ‘काम गर्दै जाँदा छोड्न पनि सकिएन । जीवन धान्नै पनि गाह्रो छ ।’

आफूहरुको क्षमतामाथि शंका लागेर मासिक तलब नदिएको हो भने त्रिविले अनुगमन गर्नसक्ने उनी बताउँछन् । आंशिक प्राध्यापकको तलबले जीवन धान्न गाह्रो हुने भएकोले उनी निरन्तर आन्दोलनमा आउन बाध्य भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्