नेपाली धागो निर्यात रोक्ने टर्की र भारतको प्रयास असफल

काठमाडौँ , २० मंसिर । विश्व बजारमा नेपालमा उत्पादित धागोको निर्यात बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक विश्लेषण गर्दा नेपालमा उत्पादित धागोको माग बढ्न थालेको देखिएको हो ।

चालू आर्थिक वर्षको कात्तिक महिनासम्म पाँच अर्ब ४२ करोड रुपैयाँ मूल्य बराबरको धागो निर्यात भएको छ । साउनदेखि कात्तिक (चार महिना अवधि) भित्र उल्लेखित रकम बराबरको धागो निर्यात भएको हो । चार महिनाभित्र निर्यात भएको धागोको परिणाम गत आर्थिक वर्षको कात्तिक महिनासम्मको निर्यात तथ्यांकभन्दा ६० करोड रुपैयाँले बढेको हो ।

गत आर्थिक वर्षको कात्तिक महिनासम्म नेपालबाट जम्मा चार अर्ब ८२ करोड रुपैयाँ बराबरको धागो निर्यात भएको थियो । गत आर्थिक वर्षभर नेपालबाट भारत र टर्कीमा आठ अर्ब ५० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको धागो निर्यात भएको थियो । जुन, चालू आर्थिक वर्ष २०७८र७९ मा बढेर १२ अर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान व्यवसायहरूले गरेका छन् । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष विदेशमा नेपाली धागोको माग बढ्न थालेकाले निर्यात बढ्ने उनीहरूको आँकलन छ ।

नेपालमा जम्मा तीनवटा उद्योगले धागो उत्पादन र निर्यात गर्दै आइरहेका छन् । रिलायन्स स्पिनिङ मिल्स, जगदम्बा स्पिनिङ मिल्स र त्रिवेणी स्पिनिङ मिल्सले धागोको उत्पादन र निर्यात गर्दै आइरहेका हुन् । यी तीन उद्योगले उत्पादन गर्ने धागो दक्षिण छिमेकी मुलुक भारत र टर्कीमा निर्यात भइरहेको जगदम्बा स्पिनिङ मिल्सका अध्यक्ष विष्णु न्यौपानेले बताए ।

विश्व व्यापार संगठनमा आबद्ध देशहरूले कुनै पनि देशको उत्पादनलाई एकैपटक भन्सार बढाउन मिल्दैन । सोही कारण टर्कीले संगठनलाई सूचना दिएपछि मात्रै नेपाली उत्पादकलाई सूचना पठाएका थिए ।

न्यौपानेले भने, ‘नेपालमा उत्पादित धागोको ६० प्रतिशत बजार भारत हो भने २५ प्रतिशत टर्की र बाँकी १५ प्रतिशत धागो अन्य मुलुकमा निर्यात भइरहेको छ ।’ अघिल्लो वर्षमा नेपालबाट टर्कीमा धागो निर्यात उल्लेख्य रूपमा बढेपनि पछिल्लो समय घटेको उनको भनाइ छ ।

‘टर्कीमा सन् २०१८ सम्म शून्य प्रतिशत भन्सारमा निर्यात हुन्थ्यो । अहिले टर्कीले नेपाली धागोमा १२ प्रतिशत भन्सार शुल्क लगाउँछ,’ न्यौपानेले भने, ‘तर, भारतमा निर्यात गर्दा भने भन्सारदर शून्य छ ।’ यही कारण भारतमा नेपाली धागो निर्यात बढिरहेको छ भने टर्कीतर्फ निर्यात घटिरहेको छ ।

टर्कीले नेपाली धागोमा भन्सार महशुल बढाउने तयारी रोकेको करिब १० महिनापछि भारतले उस्तै बखेडा झिक्यो । विश्वभर फैलिरहेको कोरोना भाइरस महामारी रोक्न २०७७ वैशाखदेखि गरिएको लकडाउनकै बेला भारतले यस्तो तयारी गरेको थियो । भारतीय पक्षले नेपालमा उत्पादित धागोको मूल्य नेपालमा र भारतमा फरक–फरक भएको तर्क राख्यो ।

उक्त समयमा नेपालमै उत्पादित धागोको मूल्य यहीँ नै प्रतिकिलो २२० रुपैयाँ थियो । भारततर्फ प्रतिकिलो १६० रुपैयाँमै निकासी भइरहेको थियो । यही विषयलाई भारतीय पक्षले मुद्दा बनायो र ‘एन्टीडम्पिङ ल’ (उत्पादन मूल्यभन्दा कम मूल्यमै निकासी गरेमा भन्सार लगाएर उत्पादित लागत बराबर बनाउने) लगाउने तयारी गर्‍यो ।

भारतको तयारीबारे जानकारी पाएपछि व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र र मन्त्रालय मिलेर बजार अध्ययन गर्‍यो । ‘अध्ययनबाट धागोको उत्पादन मूल्य प्रतिकिलो १५० रुपैयाँ रहेको पाइयो,’ सिहंले भने, ‘नेपाली बजारमा बेच्ने धागोमा मूल्य अभिवृद्धि कर र स्थानीय कर लगायतजोडिँदा महँगो परेको पाइयो ।’

तर, भारत निकासी गर्ने धागोमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने भएकाले निर्यात हुने धागोको मूल्य सस्तो भएको निस्कर्ष निस्कियो । यही विषय उल्लेख गरेर लकडाउनकै बेला मन्त्रालयले भारतीय पक्षलाई धागो उत्पादन मूल्य निर्धारण प्रक्रिया खुलाएर पत्र लेख्यो । जसको परिणाम नेपालको पक्षमा आयो र भारत तत्कालका लागि भन्सार महशुल बढाउने तयारीबाट पछि हट्यो ।

बहुपक्षीय व्यापार सन्धीले गर्दा भारतमा नेपाली धागोलाई भन्सार छुट उपलब्ध छ । एन्टीडम्पिङ लगाएपछि भन्सार महशुल तिर्नुपर्ने हुन्छ र नेपालको निर्यातसँगै लगानी पनि जोखिममा पर्ने बढ्ने देखिन्छ । यी दुईवटा मुद्दा जितेपछि अहिले नेपालमा उत्पादित धागो टर्की र भारतमा निर्वाध निर्यात भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्