सर्वोच्चको समस्या संवादबाट समाधान हुनुपर्छ : माधव नेपाल

काठमाडौँ , २० मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुराकानीका क्रममा उनले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको बताए ।

अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलग अलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताउँदै आफूले गठबन्धन गर्दा राम्रो अरुले गर्दा नराम्रो मानसिकता खराब भएको बताए । उनले अरु निर्वाचनमा मुलुक प्रवेश नगरेको र केही दिनमा हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले झन सफलता हासिल गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्