नेपालमा बढ्न थाले दुर्लभ सुनकछुवा तस्कर ,एक साताको अन्तरालमा छ जना पक्राउ

काठमाडौँ , २० मंसिर । नेपालको तराई क्षेत्रमा पाइने दुई वटा सुन कछुवासहित एक साताको अन्तरालमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त कछुवासहित पक्राउ परेकाहरुले काठमाडौंमा सुनकछुवा कसरी ल्याए ? सुनकछुवा कहाँबाट आए ? किन बेच्न खोजिदैछ ? यसबारेमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय काठमाडौंका सूचना अधिकारी शिवराम थापाले बताउनुभयो ।

उहाँका अनुसार अझै पनि सुनकछुवाको बारेमा अनभिज्ञता छ । ‘सुनकछुवा नेपालको तराई क्षेत्रमा पाइन्छ, यो संसारमै दुर्लभ प्राणी हो, अहिले प्रहरीले नियन्त्रणमा लिएका सुनकछुवा कहाँबाट काठमाडौं ल्याइए, अनुसन्धानकै क्रममा छ,’ उहाँले भन्नुभयो ।

पक्राउ परेकाहरुले घरमै पालेको बयान दिएको थापाले बताउनुभयो । ‘पक्राउ परेकाहरुले प्रारम्भिक अनुसन्धानमा घरमै पालेको बयान दिएपनि कल डिटेलको लागि मगाइएको छ, त्यो आएपछि को–कोसँग कुरा भयो थाहा हुन्छ,’ थापाले भन्नुभयो । उहाँका अनुसार कलडिटेलमा कुरा भएको नदेखिएपछि पनि छोड्ने कुरा हुँदैन । ‘सुनकछुवा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धिमा राखिएको प्रजाति हो, कारबाही त हुन्छ नै,’थापाले भन्नुभयो ।

तर, अहिले नियन्त्रणमा लिएका कछुवा भने साइटिसमा परेको प्रजाति हो, होइन भन्ने पुष्टि गर्न विधिविज्ञान प्रयोगशालामा परीक्षणको लागि पठाएको छ । थापाले भन्नुभयो,‘परीक्षणको रिपोर्ट आएपछि यसको पुष्टि हुनेछ ।’ पक्राउ परेकाहरूले घरमा पाल्नका लागि कछुवा बोकेको बताएको थापाले बताउनुभयो ।

‘पक्राउ परेका एक महिलाको माइत रामेछाप हो, माइतमा पाँच–सात वर्षदेखि पालेको सुनकछुवा पूजा गर्ने भनेर काठमाडौं ल्याइएको र त्यसलाई बच्चाहरुले बाटोमा खेलाउँदा समातिएको बताउनुभएको छ,’ थापाले भन्नभयो,‘ उहाँले श्रीमानसँग खटपट भइरहने हुनाले शान्ति पूजा गर्नको लागि कछुवा ल्याएको बताउनुभएको हो । तर, प्रहरीले उहाँहरूलाई कछुवा किनबेच भइरहेको सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।

यस्तै, बालाजुबाट समातिएका सञ्जय तामाङले बाटोमा हिँडेको अवस्थामा भेटिएको कछुवालाई मासु पसलमा राखेर हुर्काएको जवाफ दिनुभएको सूचना अधिकारी थापाले बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रहरीले सामात्ने बेला तीन जना पसलमा आएका ग्राहक पनि सामातिएका छन्, वनका कर्मचारीलाई समातेको मानिसलाई कुट्ने अधिकार हुँदैन, उनीहरु सत्य बोल्दैनन् ।’ अनुसन्धान गर्न कठिन रहेको थापाको भनाइ छ ।

सशस्त्र प्रहरी बलले ३ मङ्सिरमा दुर्लभ सुनकछुवासहित दुई जनालाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंबाट खटिएको प्रहरीको टोलीले काठमाडौंको टोखा नगरपालिका–७, ग्राण्डी अस्पतालनजिकैबाट सुनकछुवासहित दोलखाकी ५० वर्षीया सञ्जु तामाङ र सोलुखुम्बु सोताङ गाउँपालिका–१ का २४ वर्षीय अम्बिर राईलाई पक्राउ गरेको थियो ।यसको एक साता नबित्दै प्रहरीले उही प्रजातिको सुनकछुवासहित चार जनालाई पक्राउ गर्यो । काठमाडौं महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुनकछुवासहित चार जना पक्राउ परे । पक्राउ पर्नेमा बालाजुका ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ सुधेकुना नगरपालिका– १० का प्रकाश खाती, दोलखा गौरीशङ्कर गाउँपालिका– ८ का राजकुमार तामाङ र तनहुँ भानु नगरपालिका– ३ का हरि परियार छन् । उहाँहरूको साथबाट प्रहरीले नगद र मोबाइल बरामद गरेको जनाएको छ ।

यो बाहेक प्रहरीले २०७३ सालमा भारतीय नागरिक मोहम्मद उसवानको साथबाट १०९ वटा कछुवा बरामद गरेको थियो । काठमाडौंको रानीबारीस्थित दक्षिणकाली मन्दिर परिसरबाट उसवानलाई प्रहरीले पक्राउ गरेको थियो । यो बाहेक पनि कछुवासहित तस्करहरु पक्राउ पर्दै आएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)का डीएसपी दानबहादुर थापाका अनुसार वन्यजन्तुको तस्करी नेपालबाट मात्रै नभइ, नेपालमा नपाइने कयौँ प्रजातिका वन्यजन्तुसहित तस्करहरू नेपालमा पक्राउ पर्ने गरेका छन् । उहाँका अनुसार ब्युरोले वन्यजन्तु चोरी–सिकारी र तस्करी रोक्न ४ नम्बर पिलर नै खडा गरेर काम गरेको छ । ‘हामीले वन्यजन्तु आरक्षलगायत स्थानीय निकायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने गरी काम गरिरहेका छौँ,’ डीएसपी थापाले भन्नुभयो,‘ तस्करहरु संसारभर रहेकाले रेड कर्नर (नोटिस) जारी गर्ने जस्ता काम गर्छौ।’ खुला सीमाका कारण नेपाल कछुवासहितका दुर्लभ वन्यजन्तुको तस्करी हुने तेस्रो मुलुक पुर्याउन ट्रान्जिट पोइन्ट हुने गरेको उहाँको दाबी छ ।

उक्त पिलरले २०६७ यता हजारौँ वन्यजन्तुको आखेटोपहार बरामद गरेको छ । यसरी, गैरकानुनी रूपले वन्यजन्तुको चोरी–सिकारी गरी खरिद–बिक्री तथा ओसारपसार गर्नेलाई पाँच देखि १० लाख रुपियाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद तथा दुवै सजाय हुने कानुनी व्यवस्था छ तर पनि मानिस यस्तो गतिविधिमा सक्रिय रहेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्